लुम्बिनी महिला र गण्डकी पुरुषतर्फको सेमिफाइनलमा
चितवन । लुम्बिनी प्रदेश महिला र गण्डकी प्रदेश पुरुष भलिबल टोली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो । लुम्बिनीले २५–११, २५–१६ र २५–९ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
महिलातर्फ नै भएको अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली प्रदेश सेमिफाइनलमा पुगेको छ । कर्णालीले २५–२०, २५–१० र २५–१९ को जित निकालेको हो । महिला तर्फनै कोशीलाई हराउँदै गण्डकी सेमिफाइनलमा पुगेको हो । गण्डकीले २५–१८, २५–२३ र २५–२२ मा जित हात पार्यो ।
महिलातर्फको सेमिफाइनलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशको सामना गर्दा बागमतीले कर्णाली प्रदेशको सामना गर्नेछ ।
पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पुरुषतर्फको पहिलो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई सोझो सेटमा हराएको छ । लुम्बिनीले २५–९, २५–१३ र २५–१९ मा हराएको हो ।
दोस्रो खेलमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ३–२ सेटको जित निकालेको छ । कोशीले २५–२०, २०–२५, १७–२५, २५–१८ र १५–१३ मा जित निकालेको हो ।
पुरुषतर्फको अन्तिम खेलमा कर्णाली प्रदेशमाथि गण्डकी प्रदेशले ३–२ सेटको जित निकालेको छ । गण्डकीले २१–२५, २५–११, २३–२५, २५–१६ र १५–१३ को जित निकाल्यो ।
आज हुने पुरुषतर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशले कर्णालीको सामना गर्दा गण्डकी सुदूरपच्छिमसँग खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्