लेख विवरण

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीप सुरू

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीप सुरू

काठमाडौं । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको पहिलो दिन सदभाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ–आफ्नो उमेर समुहमा शीषस्थानमा रहेका छन।

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसीप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव आचार्य ५–अन्डर ६३ को उत्कृष्ट स्कोर सहित शीषस्थानमा रहे। उनले संसार विकेमाथी १३ स्ट्रोकको फराकिलो अग्रता बनाए।

सदभावले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। पहिलो, दोस्रो, चौथो र नवौ होलमा एक–एक सट बचाए। तर ५–पारको तेस्रो होलमा डबल बोगी खेपे। यसपछि ब्याक नाइनमा दशौंदेखि १३औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। तर १८औं होलमा एक सट खेर फाले र ब्याक नाइन ३–अन्डर ३१ मा पुरा गरे।

दोस्रो स्थानमा रहेका संसारले ८–ओभर ७६ मा पहिलो दिनको खेल सकाउने क्रममा उनले फ्रन्ट नाइन ३–ओभर ३७ र ब्याक नाइन ५–ओभर ३९ मा सकाए। १०–ओभर ७८ को स्कोरमा स्वप्नील भट्टराई तेस्रो स्थानमा रहेका छन।

पुरूषकै १२ देखि १६ वर्ष उमेर समुहमा ईदान्त सिंह साउद १६–ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन। उनले फ्रन्ट नाइन ७–ओभर ४१ र ब्याक नाइन ९–ओभर ४३ मा पुरा गरे। १८–ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन। यसैगरी सोहम अग्रवाल र दीपक बहादुर कामी २१–ओभर ८९ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन।

महिला खुल्लातर्फ अवानी राई २०–ओभर ८८ सहित शीर्षस्थानमा रहेकी छिन। उनले आइन्स्टिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन। आइसटिनाले २५–ओभर ९३ को स्कोर दर्ज गरिन।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र ४ महिलागरी कुल ३१ खेलाडीको सहभागीता रहेको छ। तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन। प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन।

प्रतियोगितामा काठमाडौँ बाहेक पोखरा, धरान र चितवनका खेलाडीले सहभागीता रहेको छ। यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुदै आएको थियो। कोभिडपछि रोकिएको प्रतियोगिता हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौतासँगै पुनः सुचारू भएको हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.