लेख विवरण

एथलेटिक्सको ८ समय मिटर दौडमा बादल र सरितालाई

एथलेटिक्सको ८ समय मिटर दौडमा बादल र सरितालाई

काठमाडौं । गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन् । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । पहिलो दिन मंगलबार दुवैले ४ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चे । सुदूरपश्चिम प्रदेशका विक्रम विष्ट दोश्रो तथा कर्णाली प्रदेशका प्रकाश बुढा तेश्रो भए । सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्साल दोश्रो तथा लुम्बिनी प्रदेशकी अनिशा थारु तेस्रो भए ।

ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेल पहिलो भए । उनले ५२.१६ मिटर टाढा फाले । लुम्बिनीका राहुल थारु दोश्रो तथा रवि चौधरी तेश्रो बने । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण चुमिन् । सरिताले ३१.५४ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिब्याकला थारुले कांस्य हात पारे ।

छात्र लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दैै पहिलो भए । सुदूरपश्चिमका सन्नी चौधरी दोश्रो तथा आशिष महर तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर जम्प गरिन् । गण्डकीकी निशा घर्ती दोश्रो तथा सुदूरपश्चिमकी रेनुका ऐर तेश्रो बने ।

छात्र/छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमती पहिलो भयो । छात्रमा मधेश प्रदेश दोश्रो तथा सुदूरपश्चिम तेश्रो भए । छात्रामा गण्डकी दोश्रो तथा सुदूरपश्चिम तेश्रो बने ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.