लेख विवरण

सन्तोषी बुढानीलकण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर

सन्तोषी बुढानीलकण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर

काठमाडौंँ । प्रथम बुढानीकलण्ठ नगर सिल्ड खेलकुद महोत्सवको आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषी श्रेष्ठलाई ब्रान्ड एम्बासडर बनाउने भएको छ ।

आयोजक बोर्डका संयोजक सुमन तामाङले सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा चयन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बुढानीलकण्ठ नगरपालिका वडा ६ मा बस्ने सन्तोषी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौड तथा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता हुन् ।

संयोजक तामाङले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभूति भएको बताउदै महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले बुढानीलकण्ठलाई खेलकुदको हब बनाउन क्यालेन्डर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

संयोजक तामाङले सहभागी खेलाडीको सुरक्षालाई ध्यानमा राखी ७ दिनका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिने बताउदै स्थानिय र बसाइसराइ गरेका खेलाडीले प्रतियोगितामा सहभागिताको अवसर पाउने बताए ।

सन्तोषीले ब्रान्ड एम्बासडर बनाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै खेलकुद महोत्सव खेलाडीका लागि आफ्नौ कौशल देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले खेलकुद महोत्सवको टिसर्ट सार्वजनिक गरेका थिए । त्यसै अवसरमा खेलकुद महोत्सवको लोगो र प्रोमो पनि सार्वजनिक गरिएको थियो ।

मेयर अधिकारीले खेलकुदलाई प्राथमिकतामा राखीमा नगरपालिकाले प्रशासन र शिक्षापछि खेलकुदमा बजेट विनियोजन गरेको बताउदै खेलकुदको माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने अभियानमा सबै जुट्नु पर्नेमा जोड दिए ।

बैशाख १५ गतेदेखि सुरु हुने महोत्सवमा विभिन्न ८ खेल समावेश गरिएको छ । कराते, तेक्वान्दो, मुवाँथाईं, कुङ फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुनेछ । रेस्लिङ र केहि परम्परागत खेलको प्रदर्शनी खेल पनि हुनेछ । खेलकुद महोत्सव बैशाख १९ गतेसम्म चल्ने छ ।

 

 
सन्तोषी बुढानीलकण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर

बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको टिर्सट सार्वजनिक गरिदै ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.