लेख विवरण

प्रोफेसनल आइटिएफ तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

प्रोफेसनल आइटिएफ तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

बागलुङ । मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन् ।

बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा जित निकाल्दै सुवाश पुरुषमा र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन् । यससँगै दुवै नगद ५० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारे । बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको दुईदिने प्रतियोगिताको पुरुषतर्फ फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए । श्रीप्रसादले ३० हजार रुपैयाँसहित पदक प्राप्त गरे । आर्मीका अनिल तामाङ तेस्रो भए । उनले तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराए ।

तेस्रो स्थानका अनिलले २० हजार रुपैयाँ र पदक पाए । महिलातर्फ फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन् । सजिनाले नगद ३० हजार रुपैयाँसहित पदक पाइन् । महिलामा कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । उनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराइन् । महिलातर्फ ५०–५७ केजी तौलसमूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषमा भने ५५–६२ केजी तौलसमूहका कुल २२ खेलाडीले चुनौती प्रस्तुत गरेको आयोजक संघका अध्यक्ष प्रतीक घर्तिमगरले जानकारी दिए । प्रतियोगिताको विजेतालाई ढोरपाटन नगरपालिकाका कार्यवहाक नगर प्रमुख कल्याण कायत, नेपाल आइटिएफ तेक्वान्दो महासघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघका उपाध्यक्ष राजमन्दिर श्रेष्ठ, महासचिव घमबहादुर थापामगर र आयोजक संघ अध्यक्ष एवम् गण्डकी प्रदेश तेक्वान्दो संघकासचिव प्रतीक घर्तिमगरलगायतले पुरस्कृत गरेका थिए । प्रोफेसनल फाइटमा प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.