प्रथम वडाकप क्रिकेटको उपाधि पिपरहिया ११ लाई
भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर ६ मा भएको वडा स्तरीय प्रथम टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि पिपरहिया ११ ले जितेको छ ।
सिद्धार्थनगर नगरपालिका ६ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा गल्लामण्डी लायन्सलाई हराउदै पिपरहिया ११ ले उपाधि जितेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबारको भएको खेलमा व्याटिङ पाएको गल्लामण्डी लायन्सले ८६ रन जोड्न सकेको थियो । ८७ रनको झिनो लक्ष्य पाएको पिपरहिया ११ ले लक्ष्य पार गरि जित निकाल्यो ।
स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिका वडा नं। ६ का अध्यक्ष विरेन्द्र नाथ श्रीवास्तवले बताए । ५ टीमको सहभागीता रहेको प्रतियोगितामा जित सँगै विजेताले १० हजार र उपविजेताले ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट खेलाडीबाट सुरज गुरुङ नगद र ट्रफी सहित पुरस्कृत भए । खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव भोलाले पुरस्कार प्रदान गरे ।
कार्यक्रममो उद्घाटनको अवसरमा बोल्दै प्रमुख अतिथी नगरप्रमुख इस्तियाक अहमद खाँ ले प्रतिस्पर्धाका लागि मात्रै नभई खेल स्वास्थ्यका लागि अतिआवश्यक रहेको बताए, रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले नगरमा खेलको विकासका लागि स्थानीय स्तरबाट नै खेललाई महत्व दिदै प्रतियोगिताहरु हुदै आएको र निरन्तरता दिने बताए । स्थानीयस्तरमा सञ्चालित यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
वडासदस्य अनिल गुरुङको संयोजकत्वमा भएको प्रतियोगितामा १३ वटै वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

टिप्पणी लेख्नुहोस्