गणेशमान सिंह टी-२० च्याम्पियनशिप : रोमाञ्चक खेलमा सुदुरपश्चिमले कोशी प्रदेशलाई ३ रनले हरायो
काठमाडौंँ । काठमाडौंँमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत आइतवार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले रोमाञ्चक जित हात पारेको छ। प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा सुदुरपश्चिमले कोशी प्रदेशलाई ३ रनको झिनो अन्तरले पराजित गरेको हो। कोशीको भने यो तेस्रो खेलमा लगातार तेस्रो हार हो।
टस हारेर सुरुवातमा ब्याटिंग गर्ने निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन जोडेको थियो। सुदुरपश्चिमको ब्याटिंगमा ओपनर अविशेक पालले ४१ बलमा ६० रन जोडे। अविशेकको यो तेस्रो खेलमा दोस्रो अर्धशतक समेत हो।
त्यस्तै दिपक बोहराले ३२ तथा गजेन्द्र बोहराले २९ रन जोड्दा सुदुरपश्चिमले खेलमा राम्रो योगफल तयार पारेको थियो।
कोशीको बलिङ्गमा ज्ञानेन्द्र श्रेष्ठ र कप्तान अंकित सुवेदीले समान २-२ विकेट लिए। यस्तै सर्वन किस्कु र सौजन घिमिरेले समान १-१ विकेट हात पारे।
जवाफमा १५५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाउदा ३ रनको झिनो हार बेहोर्नु पर्यो।
कोशीका लागी शर्वन यादवले २७ बलमा अविजित ४६ र दिपेश कंडेलले १० बलमा अविजित २१ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन। यस्तै मिनस थापाले ३८ बलमा ३४ तथा समीर कार्कीले १४ बलमा २२ रन बनाएका थिए।
सुदुरपश्चिमको बलिङ्गमा नारायण जोशीले २ विकेट लिए। त्यस्तै नरेन साउद र बसन्त खत्रीले समान १-१ विकेट लिए। सुदुरपश्चिमका ओपनर ब्याट्समेन अविशेक पल खेलको प्लेयर अफ दि म्याच घोषित भए।

टिप्पणी लेख्नुहोस्