लेख विवरण

त्रिभुवन आर्मी क्लब भोजपुर गोल्डकपको सेमीफाइनलमा

त्रिभुवन आर्मी क्लब भोजपुर गोल्डकपको सेमीफाइनलमा

भोजपुर । यहाँ जारी भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, काठमाडौंँले भारतको जर्जियन फुटबल क्लब, कालिमपोङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटनपछिका पहिलो खेलमा शून्यको विरुद्ध चार गोल गर्दे त्रिभुवन आर्मीले विजयी सुरुआत थालेको हो । भोजपुर सदरमुकामको कोदार रङ्गशालामा आजदेखि सुरु प्रतियोगितामा भारतको टिमबाट कुनै पनि गोल हुन सकेन ।

भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा ४९ लाख २५ हजार पाँच सय बराबरको अनुमानित लागतमा सञ्चालन भएको प्रतियोगितामा भारतको एक टिमसहित आठ टिमको सहभागिता रहेको छ । यही वैशाख ९ गतेबाट १५ सम्म सञ्चालन हुने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौंँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले जानकारी दिए । अहिलेसम्म करिब ११ लाख रकम सङ्कलन भई सकेको छ भने अन्य रकम पनि सङ्कलन गरिने छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.