लेख विवरण

चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ ।

निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको हो । टाइब्रेकरमा प्रहरीको तर्फबाट उज्जल राई, सन्देश विक, बिवेक राई र सुमित प्रधानले गोल गरे ।

गोलबजारको तर्फबाट बिनोद राई र निरजल मुक्ताङ्गले मात्र गोल गरे । गौरव श्रेष्ठ र मिन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले बचाए । टाइब्रेकरमा दुई गोल सेभ गर्ने प्रहरीका पुरन खेलको प्लेयरअफ म्याच घोषित भए ।

बुधबार हुने पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।

कोशी प्रदेशका ‘ए’ डिभिजनका ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्डकप फुटबल टष्टका अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.