प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने
काठमाडौंँ । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतिष्ठानले ललितपुर जिल्ला खेलकुद विकास समितिमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका साथै सहभागी टिमहरु, पुरस्कार राशि तथा लागत खर्चसमेतको विषयमा जानकारी गराइएको हो ।
प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको छ । प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ ।
कूल पुरस्कार राशि रु १२ लाख रहेको प्रतियोगिताको विजेतालाई रु तीन लाख, उपविजेतालाई रु दुई तथा तृतीय हुने रु दुई टिमलाई रु एक-एक लाख प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँच जनालाई जनही रु ५० हजार पुरस्कार रहेको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिले सहआयोजक रहेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ । यसैगरी नेपाल भलिबल सङ्घको पनि प्राविधिक सहयोग रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै खेलकुदलगायतका विभिन्न सामाजिक काम तथा कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतियोगिताका सम्पूर्ण खेल ललितपुर महाकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा हुने जानकारी गराइएको छ । प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ ।

टिप्पणी लेख्नुहोस्