लेख विवरण

गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट : बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो

गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट : बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो

काठमाडौंँ । काठमाडौँमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो खेलमा बागमती प्रदेशले जित हात पारेको छ। प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने क्रममा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।

टस जितेर सुरुवातमा बलिङ्ग गर्ने निर्णय लिएको बागमतीले गौतम केशीको ५ विकेट सहयोगमा कर्णालीलाई १९.४ ओभरमा १२० रनमा समेटेको थियो। कर्णालीका लागी विपिन शाहीले ५१ रन बनाएपनि अन्य ब्याट्समेनले साथ दिन नसक्दा टोलि झिनो योगफलमा नै रोकिएको थियो।

बागमतीका लागी गौतम केशीले ३.४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए। यस्तै सोनु देवकोटा र रिजन ढकालको नाममा समान २-२ विकेट रह्यो।

जवाफमा १२१ रनको सहज लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पार्यो। बागमतीको जितमा कप्तान रित गौतमले सर्वाधिक ३३ तथा शुभ कंसाकार र इशान पाण्डेले समान २८-२८ रन बनाए।

प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्दै छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.