लेख विवरण

युसेन बोल्ट बने आइसिसी टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर

युसेन बोल्ट बने आइसिसी टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ओलम्पिकका महान खेलाडी उसैन बोल्टलाई आइसिसी पुरुष टी–२० विश्वकपको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । टी–२० विश्वकप सन् २०२४ को जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

११ पटकको विश्व विजेता उसैन वेस्ट इन्डिजको जमैकाका हुन् । उनले सन् २०१७ मा लण्डन विश्व च्याम्पियनसिपपछि सन्यास लिएका थिए । उनले आफ्नो पछिल्लो प्रतियोगितामा रजत पदक जितेका थिए ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि बोल्टले भने, "म आगामी टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर बन्न पाउँदा उत्साहित छु । यो खेलले मेरो हृदयमा सधैं विशेष स्थान ओगटेको छ, र म विश्वकपमा वेस्ट इन्डिजका खेलहरूमा भाग लिन र विश्व मञ्चमा क्रिकेटको विकासमा योगदान गर्न उत्सुक छु। हुन त म विश्वकपमा वेस्ट इन्डिजलाई अवश्य समर्थन गर्नेछु, तर यो खेललाई अमेरिकामा ल्याउनु क्रिकेटका लागि ठूलो कुरा हो । यो विश्वको सबैभन्दा ठूलो खेल बजार हो र टी–२० विश्वकपलाई हामी बिषेश बनाउने छौं, यो सन् २०२८ मा हुने एलए ओलम्पिकमा क्रिकेटलाई समावेश गर्ने ठूलो अवसर पनि हो ।"

बोल्टले १०० मिटर दौड ९.५८ सेकेन्डमा र २०० मिटर दौड १९.१९ सेकेन्डमा पूरा गरेका थिए । यो विश्व कीर्तिमान हो । बोल्टले ३ वटा ओलम्पिकमा ८ स्वर्ण जितेका थिए । जसमध्ये दुई वटा सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेका थिए भने सन् २०१२ को लण्डन ओलम्पिक र सन् २०१६ को रियो ओलम्पिकमा ३–३ स्वर्ण जितेका थिए ।

जमैकामा जन्मेका बोल्टले आफ्नो बाल्यकाल भाइसँग सडकमा क्रिकेट र फुटबल खेल्दै बिताएका थिए। १२ वर्षको उमेरमा उनले सोचेका थिए कि उनी खेलकुदमा करियर बनाउन चाहन्छन्, तर कुन खेलमा निर्णय गर्न सकेनन्।

एक दिन बोल्टका क्रिकेट प्रशिक्षकले पिचमा उनको दौडको गति देखे र उनलाई स्प्रिन्टिङमा प्रयास गर्न सल्लाह दिए। बोल्टले आफ्नो प्रशिक्षकको सल्लाह पालन गरे र दौडको लागि प्रशिक्षण सुरु गरे। सन् २००१ मा, उनले पहिलो पटक ४०० र २०० मिटर दौडमा रजत पदक जितेका थिए, पन्ध्र वर्षको उमेरमा क्यारेबियन क्षेत्रीय च्याम्पियनसिपमा जमैकाका लागि खेलेका थिए। सन् २००२ मा उनले विश्व जुनियर च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक जितेका थिए।

एम्बेसडरको रूपमा बोल्टले टी–२० विश्वकपको प्रचारमा महत्वपूर्ण भूमिका खेल्नेछन्, जुन अर्को हप्ता गायक सीन पल र केससँग आधिकारिक गीत भिडियो को रिलीजमा क्यामियोको साथ सुरु हुनेछ। आठ पटकका ओलम्पिक स्वर्ण पदक विजेता बोल्टले वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा पनि सहभागिता जनाउनेछन् र अमेरिकाभित्र खेलको प्रचार गर्ने तथा फ्यान इभेन्टमा सहभागी हुनेछन् ।

टी–२० विश्वकप प्रतियोगिताको उद्घाटन खेल क्यानडा र घरेलु टोली अमेरिकाबीच हुनेछ । यो खेल जुन १ मा डलासमा हुनेछ । वेस्ट इन्डिजले आफ्नो पहिलो खेल जुन २ मा पपुवा न्युगिनीसँग गुयानामा खेल्नेछ । २९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २० टिमबीच कुल ५५ खेल हुनेछन्, जुन टी–२० विश्वकप इतिहासमै पहिलो पटक हुनेछ ।

प्रतियोगितामा जुन १ देखि १७ सम्म समूह चरणका ४० खेल हुनेछन् । जुन १९ देखि २४ सम्म सुपर–८ चरणका १२ खेल हुनेछन् । पहिलो सेमिफाइनल खेल जुन २६ मा गुयानामा र दोस्रो सेमिफाइनल खेल जुन २७ मा ट्रिनिडाडमा हुनेछ । प्रतियोगिताको फाइनल खेल जुन २९ मा बार्बाडोसमा हुनेछ ।

टी–२० विश्वकप वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । वेस्ट इन्डिजका ६ शहरमा कुल ४१ खेल हुनेछन्, यी सँगै तीनवटै नकआउट खेल पनि हुनेछन् । बाँकी १४ खेल अमेरिकाको न्युयोर्क, फ्लोरिडा र डलासमा हुनेछन् । ट्रिनिडाड, गुयाना, बारबाडोस, एन्टिगुआ, सेन्ट भिन्सेन्ट र सेन्ट लुसिया वेस्ट इन्डिजका ६ शहर हुन् ।

प्रतियोगिताको समूह ए' 'बी' 'सी' र 'डी' मा ५–५ टोली छन् । सबै टोलीले आ–आफ्नो समूहमा ४–४ खेल खेल्नेछन् । समूह चरणको अन्त्यमा अंक तालिकाका शीर्ष २ टोली सुपर–८ चरणमा प्रवेश गर्नेछन् । यस चरणमा ८ टिमलाई ४–४ गरी २ समूहमा विभाजन गरिनेछ । सेमिफाइनल दुवै समूहका शीर्ष २–२ टोलीबीच हुनेछ । सेमिफाइनलको विजेताले जुन २९ मा दुई टोलीबीच फाइनल खेल्नेछ ।

संयुक्त राज्य अमेरिकाले पहिलो पटक आइसिसी विश्वकप प्रतियोगिता आयोजना गर्न लागेको हो । सन् २०२८ को ओलम्पिक खेल पनि क्रिकेटसहित अमेरिकामा आयोजना हुनेछ । यस घटनालाई मध्यनजर गर्दै आइसिसीले टी–२० विश्वकप अमेरिकामा आयोजना गर्न रुचाएको हो । अमेरिकासँगै वेस्ट इन्डिजमा पनि टी–२० विश्वकप आयोजना हुनेछ, जहाँ सन् २०१० को प्रतियोगिता पनि खेलिएको थियो । पछिल्लो पटक सन् २०२२ मा अस्ट्रेलियामा टी–२० विश्वकप आयोजना भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.