यी पूर्व भारतीय खेलाडी बने युगान्डा क्रिकेट टोलीको मुख्य प्रशिक्षक
काठमाडौंँ । अफ्रिकी देश युगान्डाको क्रिकेट टोली प्रशिक्षकमा दिल्लीका पूर्व प्रथम श्रेणी क्रिकेटर अभय शर्मा नियुक्त भएका छन् । युगाण्डा क्रिकेट संघले मंगलबार अप्रिल २३ मा यसको घोषणा गरेको हो । युगाण्डा क्रिकेटले अभय शर्मालाई टी–२० विश्वकपका लागि मात्र नभई आगामी ३ वर्षका लागि टोलीको प्रशिक्षक बनाएको छ । अर्थात् अभय शर्माले यो टिमलाई यो टी–२० विश्वकपका लागि मात्र होइन, सन् २०२६ को टी–२० विश्वकपका लागि पनि तयार पार्ने अवसर पाउनेछन् ।
को हुन् अभय शर्मा ? युगाण्डा क्रिकेट संघले उनलाई किन रोज्यो ?
अभय शर्मासँग कोचिंगको लामो अनुभव छ । उनले भारतको पुरुष र महिला टोलीमा फिल्डिङ कोचको रूपमा काम गरेका छन् भने यू-१९ भारतीय टोलीमा पनि लामो समय बिताएका छन्। सन् २०१६ मा भारतीय टोली जिम्बाब्वे भ्रमणमा जाँदा अभय शर्मा उक्त सिरिजका लागि भारतीय टोलीको फिल्डिङ प्रशिक्षक थिए । त्यसपछि त्यहाँबाट वेस्ट इन्डिज भ्रमणमा उनी धोनीको कप्तानीमा रहेको भारतीय टोलीको कोचिङ स्टाफको हिस्सा थिए, जसमा कोहली, रोहित शर्मा, जसप्रित बुमराह जस्ता ठूला नामहरू उपस्थित थिए।
सन् २०२१ मा उनलाई भारतीय महिला टोलीको फिल्डिङ प्रशिक्षक बनाइएको थियो र उनको कार्यकालमा भारतीय टोलीको फिल्डिङमा धेरै सुधार देखिएको थियो। अब उनी पहिलो पटक आईसीसीको ठूलो प्रतियोगितामा सहभागी हुन लागेको युगान्डा क्रिकेट टोलीसँग आफ्नो सफलता दोहोर्याउन चाहन्छन् । अभयको करियरको बारेमा कुरा गर्दा, दिल्लीका निवासी अभयले १९८७-८८ मा यहाँबाट प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए। दायाँ हाते ब्याट्सम्यान र विकेटकिपर अभयले रेलवेसँग पनि लामो समय बिताए। समग्रमा उनले ८९ प्रथम श्रेणी खेलमा ४ हजार १ सय ५ रन बनाएका छन् भने १ सय ४५ क्याच र ३४ स्टम्पिङ गरेका छन् ।

टिप्पणी लेख्नुहोस्