लेख विवरण

टी–२० क्रिकेटमा १७ वर्षीय यी खेलाडीले बनाइन अनौठो किर्तिमान

टी–२० क्रिकेटमा १७ वर्षीय यी खेलाडीले बनाइन अनौठो किर्तिमान

काठमाडौंँ । टी–२० क्रिकेटमा ब्याट्सम्यानले आफ्नो खेलमार्फत लगातार नयाँ कीर्तिमानहरु बनाइरहेका हुन्छन । यसै क्रममा इन्डोनेसियाकी १७ वर्षीय रोहमालियाले बलिङमा यस्तो कीर्तिमान बनाइन जुन कसैले कल्पना पनि गर्न सकेका थिएनन् ।

मंगोलियाको महिला क्रिकेट टोली हाल इन्डोनेसियाको भ्रमणमा छ । जहाँ यी दुई टोलीबीच ६ खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला भर्खरै सकिएको छ। सिरिजको पाँचौ खेलमा इन्डोनेसियाकी अफ स्पिनर रोहमालियाले कुनै पनि रन नदिई ७ विकेट लिएकी छन् । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले ५ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो भने मंगोलियाको टोली १६.२ ओभरमा २४ रन बनाउदै अलआउट भयो ।

रोहमालियाले सन् २०२१ को आइसिसी टी–२० विश्वकप युरोप छनोटमा फ्रेन्च टोलीविरुद्धको खेलमा नेदरल्याण्ड्सका फ्रेडरिक ओभरडिज्कले ४ ओभरमा ७ विकेट लिने कीर्तिमान तोडेकी छन् । महिला टी–२० अन्तर्राष्ट्रियमा ७ विकेट लिने रोहमालिया तेस्रो खेलाडी हुन् । नेदरल्याण्ड्सकी फ्रेडरिक ओभरडिज्क र अर्जेन्टिनाकी एलिसन स्टक्सले पनि यो उपलब्धि हासिल गरेका थिए । साथै, डेब्यु टी–२० अन्तर्राष्ट्रिय खेलमा यो अहिलेसम्मको कुनै पनि खेलाडीको उत्कृष्ट प्रदर्शन पनि हो । रोहमालियाले सन् २०१९ मा माल्दिभ्सविरुद्धको डेब्यु खेलमा २.१ ओभरमा कुनै रन नदिई ६ विकेट लिने नेपाली खेलाडी अञ्जली चन्दको कीर्तिमान पनि तोडेकी छिन् ।

६ खेलको टी–२० सिरिजमा घरेलु टोली इन्डोनेसिया पूर्णरुपमा हावी भएको थियो । टोलीले पहिलो र दोस्रो खेल १२२ र १०४ रनले जितेको थियो भने तेस्रो खेल १० विकेटले जितेको थियो । त्यसपछि इन्डोनेसियाले चौथो र पाँचौं टी–२० खेल १२० र १२७ रनले जितेको थियो भने सिरिजको अन्तिम खेल १० विकेटले जितेको छ । यस सिरिजमा इन्डोनेसियाकी सान्ड्रा बाराले सर्वाधिक ११ विकेट लिइन् भने रोहमालिया यो सूचीमा तेस्रो स्थानमा रहिन् । उनले २ खेलमा ७ विकेट लिएकी थिइन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.