लेख विवरण

रोहितको शतक र गुल्शनको उत्कृष्ट फिनिसिङमा नेपालको रोमाञ्चक जित

रोहितको शतक र गुल्शनको उत्कृष्ट फिनिसिङमा नेपालको रोमाञ्चक जित

काठमाडौँ। कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा रोमाञ्चक जित हासिल गरेको छ।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो। उक्त ओभर गर्न ओशान थोमस आएका थिए। उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए।

दोस्रो बलमा प्रतिश जीसीले पुन: १ रन लिए। तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाए।

गुल्शनकुमार झा ४ बलमा २ चौकासहित ९ र प्रतिश जीसी २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे। रोहितले सर्वाधिक ११२ रन बनाए। ५६ बल खेलेका उनले १० चौका र ८ छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६ र कुशल भुर्तेल १६ रनमा आउट भए। वेस्ट इन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २/२ विकेट लिए। किमो पलको नाममा १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो।

वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे। एलिक एथानाज ४७, केसी कार्थी ३८ र आन्द्रे फ्लेचरले १३ रन बनाउँदा कादिम एलीन १४ र किमो पल १ रनमा अविजित रहे।

नेपालका कमलसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहराले १/१ विकेट रह्यो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.