लेख विवरण

आइपिएल : राजस्थानले लखनउलाई ७ विकेटले हरायो

आइपिएल : राजस्थानले लखनउलाई ७ विकेटले हरायो

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं संस्करणको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अर्को जित दर्ता गरेको छ । टोलीले घरेलु मैदानमा लखनउ सुपरजाइन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । राजस्थानका लागि कप्तान सन्जु सामसन र ध्रुव जुरेलले अर्धशतकीय पारी खेले । दुवैले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै लखनउको हातबाट खेल जितेका थिए ।

शनिबार इकाना स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनायो । टोलीका लागि केएल राहुलले ७६ र दीपक हुड्डाले ५० रन बनाए । राजस्थानका सन्दीप शर्माले २ विकेट लिए ।

जवाफमा राजस्थानले १९ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । टोलीका लागि सामसनले ७१ र जुरेलले ५२ रन बनाए । लखनउका लागि यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १–१ विकेट लिए ।

राजस्थान रोयल्स ९ खेलबाट ८ औं जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीको १६ अंक छ । राजस्थानभन्दा तल ४ टोली १०–१० अंकका साथ दोस्रोदेखि पाँचौं स्थानमा छन् । लखनउले ९ खेलमा चौथो हार बेहोरेको छ भने ५ जितसंगै १० अंक जोडेर चौथो स्थानमा छ ।

आज भएको पहिलो खेलमा दिल्लीक्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले पराजित गरेको थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.