लेख विवरण

स्वीकृती नलिएका १५ एन्फा पदाधिकारी अहिले बेलायत जान नपाउने 

स्वीकृती नलिएका १५ एन्फा पदाधिकारी अहिले बेलायत जान नपाउने 

भिसा नआएको विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले एन्फा बाट जानकारी लिएका छन् ।

स्वीकृती नलिएका १५ पदाधिकारी अहिले बेलायत जान नपाउने बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भीसा  नआएको विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटवल संघ एन्फाका महासचिवसँग आज छलफल भएको छ। 

भीसा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले आज राती सम्म भीसा आउने बताए। भीसा लिनकै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले जानकारी गराए। 

एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव टंक लाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए।

यस बाहेक ५ जना एन्फा भीआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे। 

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृती नलिएको जिकिर गरे।

उनले बाकी २० जना आफ्नै खर्चमा जाने पनि बताए। तर एन्फाले उनीहरूको भीसाको लागि बेलायती राजदुतावासमा भीसाको लागि सिफारिस गरेको पनि बताए। 

राष्ट्रिय खेलकुद ऐेन अनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृती लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृती लिनुपर्ने निर्णय युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले गरेका छन।

स्वीकृती नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउनेछैनन।  युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृती बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.