लेख विवरण

फिक्सिङ गरेको आरोपमा वेस्ट इन्डिजका डेभोन थोमसलाई ५ वर्ष प्रतिबन्ध

फिक्सिङ गरेको आरोपमा वेस्ट इन्डिजका डेभोन थोमसलाई ५ वर्ष प्रतिबन्ध

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले वेस्ट इन्डिजका डेभोन थोमसलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, संयुक्त अरब इमिरेट्स (युएई) र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो । जुन कुरा उनले स्वीकार गरेपछि आईसीसीले थोमसलाई प्रतिबन्ध लगाएको हो ।

३४ वर्षीय थोमसलाई श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले भ्रष्टाचारको ७ वटा आरोप लगाएको आईसीसीले जनाएको छ । थोमसले आरोपमा दोषी स्वीकार गरे, जसको परिणामस्वरूप उनको सजाय १८ महिनाले घटाइएको छ। उनको सजाय सन् २०२३ मे २३ मा सुरु भयो र यहाँबाट सन् २०२८ मे २२ सम्म उनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न पाउने छैनन्।

थोमस विरुद्ध लगाइएको आरोपहरु

-एसएलसी कोड, धारा २.१.१ : लंका प्रीमियर लीग २०२१ मा फिक्सिङको प्रयास।

-एसएलसी कोड, धारा २.४.४ : लंका प्रिमियर लिग २०२१ मा भ्रष्टाचारमा संलग्न हरूको जानकारी एन्टी करप्शन एकाइलाई नदिइएको।

-एसएलसी कोड, धारा २.४.६ : एन्टी करप्शन अधिकृतलाई फिक्सिङमा संलग्न हुँदाहुँदै पनि गलत सूचना दिएको ।

-एसएलसी कोड, धारा २.४.७ : एन्टी करप्शन अधिकारीहरूको अनुसन्धानमा बाधा पुर्याएको तथा कागजात र सूचनामा छेडछाड गरेको ।

-ईसीबी कोड, धारा २.४.४ : अबू धाबी टी २० लीगमा भ्रष्टाचारको बारेमा जानकारी एन्टी करप्शन अधिकारीलाई नदिएको ।

-सिपिएल कोड, धारा २.४.४ : क्यारेबियन प्रिमियर लिग २०२१ मा भ्रष्टाचारको जानकारी एन्टी करप्शन अधिकारीलाई नदिएको।

-सीपीएल कोड, धारा २.४.२ : भ्रष्टाचारमा प्राप्त उपहार र पैसा सीपीएल एन्टी करप्शन एकाइलाई खुलासा नगरेको ।

आइसिसीका महाप्रबन्धक एलेक्स मार्सलले भने, "अन्तर्राष्ट्रिय र घरेलु दुवै व्यावसायिक क्रिकेट खेलेका थोमसले धेरै पटक एन्टी करप्शन सम्बन्धी प्रशिक्षण लिइसकेका छन् । यसका बावजुद उनले ३ वटा देशको फ्रेन्चाइज लिगमा भ्रष्टाचारलाई बढावा दिए । तिनलाई दिइएको सजाय बाँकी खेलाडीहरूको लागि उदाहरणको रूपमा काम गर्नेछ। "

विकेटकिपर डेभोन थोमसले वेस्ट इन्डिजका लागि तीनै फर्म्याटमा डेब्यु गरेका छन् । उनले एक टेस्ट, २१ एकदिवसीय र १२ टी–२० खेलेका छन् । उनको नाममा ३ सय भन्दा बढी रन छन् । उनले पार्ट टाइम बलिङ पनि गर्छन्, उनको नाममा ४ विकेट छ । उनले सन् २०११ को एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.