टि-२० विश्वकपका लागि वेस्ट इन्डिज र अमेरिकी टोली घोषणा
काठमाडौंँ । आइसिसी टि-२० विश्वकपका लागि आयोजक टिमले आ–आफ्नो टोली घोषणा गरेका छन् । वेस्ट इन्डिजले तीव्र गतिका बलर शमार जोसेफलाई टोलीमा समावेश गरेको छ भने रोभम्यान पावेलले टोलीको नेतृत्व गर्नेछन् । शाई होपलाई पनि टोलीमा स्थान दिइएको छ ।
यता अमेरिकाले पनि आफ्नो टोली घोषणा गरेको छ । टोलीको कप्तानी गर्ने जिम्मा मोनांक पटेललाई दिइएको छ भने भारतबाट अमेरिका आएका उन्मुक्त चन्दले स्थान पाएनन् । यद्यपि, सबै टोलीले मे २५ सम्ममा आफ्नो टोली परिवर्तन गर्न सक्नेछन् । विश्वकप जुन २ देखि जुन २९ सम्म सञ्चालन हुनेछ ।
विश्वकप आयोजक वेस्ट इन्डिज समूह ‘सी’ मा रहेको छ भने उक्त समूहमा अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्युगिनी र युगाण्डा रहेका छन् । टोलीले आफ्नो पहिलो खेल जुन २ मा पपुवा न्युगिनीसँग गुयानामा खेल्नेछ ।
शामर जोसेफले वेस्ट इन्डिजका लागि टी–२० डेब्यु गरेका छैनन् । उनले यसै वर्ष जनवरीमा अष्ट्रेलिया विरुद्ध टेस्ट डेब्यू गरेका थिए, जहाँ उनले प्लेयर अफ द सिरिजको अवार्ड जितेका थिए। त्यसपछि उनले लखनउ सुपरजायन्ट्सबाट आईपीएलमा डेब्यु गरे । यदि शामरले विश्वकप खेल्ने मौका पाए भने उनी आईसीसी प्रतियोगितामा वेस्ट इन्डिजका लागि टी-२० क्रिकेटमा डेब्यु गर्नेछन्।
टी–२० विश्वकपका लागि वेस्ट इन्डिजको टोली
रोभम्यान पावेल (कप्तान), अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाइ होप, अकिल हुसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफेन रदरफोर्ड र रोमारियो शेफर्ड।
वेस्ट इन्डिजसँगको सहआयोजक अमेरिकाले पनि टोलीको घोषणा गरेको छ । सन् २०१५ मा न्युजिल्यान्डका लागि एकदिवसीय विश्वकप खेलेका कोरी एन्डरसनले अमेरिकी टोलीमा स्थान पाएका छन् । ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले अमेरिकी टोलीको कप्तानी गर्नेछन् ।
हालै अमेरिकाले टी–२० सिरिजमा क्यानडालाई ४–० ले हराएको थियो । घरेलु टोलीले जुन २ मा क्यानडासँग टी–२० विश्वकप उद्घाटन खेल खेल्नेछ । समूह ‘ए’ मा रहेको टोलीको समूहमा भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् ।
टी–२० विश्वकपका लागि अमेरिकी टोली
मोनांक पटेल (कप्तान), आरोन जोन्स (उप-कप्तान), एन्ड्रिज गस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेत्रलोकर, शाडले भान शाल्कविक, स्टीवन टेलर र शायन जहाँगीर ।
रिजर्भ खेलाडी : गजानन्द सिंह, जोन ड्रिसडेल, यासिर मोहम्मद।

टिप्पणी लेख्नुहोस्