लेख विवरण

महिला टी–२० विश्वकप २०२४ को तालिका सार्वजनिक

महिला टी–२० विश्वकप २०२४ को तालिका सार्वजनिक

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा आयोजना हुने महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनसम्म चल्ने महिला टी–२० विश्वकपमा २३ खेलहरु हुनेछन् ।

सन् २०२४ को महिला टी–२० विश्वकप खेल तालिका आइतबार ढाकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन, आइसिसीका प्रमुख कार्यकारी अधिकृत ज्योफ अलार्डिस, भारतीय टोलीकी कप्तान हरमनप्रीत कौर र बंगलादेशकी कप्तान निगार सुल्ताना उक्त समारोहमा उपस्थित थिए ।

समूह 'ए' मा भारत र ६ पटकको च्याम्पियन अष्ट्रेलिया रहेका छन् । यो समूहमा पाकिस्तान, न्युजिल्याण्ड र क्वालिफायर्सको एक टोली रहेका छन् । समूह 'बी' मा आयोजक बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र क्वालिफायर–२ रहेका छन् । यो समूहका सबै खेल ढाकामा हुनेछन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल अक्टोबर १७ सिलेट र दोस्रो अक्टोबर १८ मा ढाकामा हुनेछ । फाइनल खेल अक्टोबर २० ढाकामा हुनेछ ।

यस्तै विश्वकपको क्वालिफायर–१ र क्वालिफायर–२ को निर्णय मे ७ मा हुने आइसिसी महिला टी–२० विश्वकप छनोटको फाइनलबाट हुनेछ ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.