पहिलो टी–२० विश्वकपमा बनेको दुई किर्तिमान अहिलेसम्म कायमै, के यस पटक भङ होला त ?
काठमाडौंँ । आइसिसी टी–२० विश्वकपको मिति नजिकिएसँगै क्रिकेट समर्थकहरुमा उत्साह छाएको छ । वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने महत्वपूर्ण प्रतियोगिताका लागि अधिकांश देशले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । आइपिएल २०२४ फाइनल समाप्त भएको एक सातापछि जुन १ मा अमेरिका र क्यानडाबीच टी–२० विश्वकपको उद्घाटन खेल हुनेछ । ५–५ टोलीलाई चार समूहमा विभाजन गरिएको प्रतियोगितामा यस पटक २० राष्ट्रको सहभागिता रहेको छ । वेस्ट इन्डिज, अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, न्युजिल्याण्ड र नेदरल्याण्ड्सले प्रतियोगितामा सिधै प्रवेश पाएका छन् भने नेपाल, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान, नामिबिया र युगान्डाले छनोटमार्फत प्रतियोगितामा स्थान बनाएका छन् ।
हुन त टी–२० क्रिकेट अनिश्चितताले भरिएको खेल हो, यसले कुनैपनि समयमा आफ्नो स्वरुप परिवर्तन गर्न सक्छ । तर यसपटक अस्ट्रेलिया, भारत र आयोजक राष्ट्र वेस्टइन्डिजलाई उपाधिको दाबेदार मानिएको छ । टी–२० विश्वकपको कुरा गर्ने हो भने यो पहिलो पटक सन् २००७ मा दक्षिण अफ्रिकामा भएको थियो र जाहाँ भारतीय टोली च्याम्पियन बनेको थियो । पछिल्लो पटक सन् २०२२ अस्ट्रेलियामा सम्पन्न टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो ।
सन् २००७ को विश्वकपपछि टी–२० क्रिकेटमा धेरै परिवर्तन आएको छ । केही वर्ष अघिसम्म यो फर्म्याटका खेलहरुमा विरलै २ सय भन्दा बढीको स्कोर हुने गरेको थियो । तर अहिले चौका र छक्काको बर्षातसँगै टी–२० क्रिकेटमा २ सय ५० को स्कोर सहजै बन्न थालेको छ । सम्भवतः सन् २०२४ को टी–२० विश्वकपमा हामीले ३ सय को स्कोर देख्न पाउनेछौं । टी–२० अन्तर्राष्ट्रियको इतिहासमा अहिलेसम्म एक पटक मात्र ३०० भन्दा बढी (३१४र३, नेपाल विरुद्ध मंगोलिया) को स्कोर बनेको छ ।
हरेक आइसिसी टी–२० विश्वकपमा नयाँ किर्तिमानहरु बन्छन् तर सन् २००७ मा बनेका केही किर्तिमान अहिलेसम्म कसैले भङ गर्न सकेका छैनन् । यी मध्ये दुई श्रीलङ्काली टोलीको नाममा रहेको छ । सन् २००७ सेप्टेम्बर १४ जोहानेसबर्गमा भएको पहिलो टी(२० विश्वकपमा श्रीलङ्काले केन्याविरुद्ध ६ विकेटको क्षतिमा २६० रन (रन रेट १३.००) बनाएको थियो, जुन टी(२० विश्वकपको अहिलेसम्मकै उच्च स्कोर हो। यति मात्र होइन, यस खेलमा श्रीलङ्काले १ सय ७२ रनको जित हात पारेको थियो, जुन प्रतियोगितामा रनको हिसाबले सबैभन्दा ठूलो जित हो । सन् २०२४ को विश्वकपमा यी दुवै किर्तिमान भङ हुने विश्वास क्रिकेट समर्थकहरुले लिएका छन् ।
केन्याविरुद्धको खेलमा श्रीलंकाका सनथ जयसूर्या र माहेला जयवर्धनेले अर्धशतकीय पारी खेलेका थिए । जयसूर्याले ४४ बलमा ११ चौका र ४ छक्काको मद्दतमा ८८ रन (स्ट्राइक रेट २००.००) बनाउदा जयवर्धनेले २७ बलमा ९ चौका र २ छक्काको मद्दतमा ६५ रन (स्ट्राइक रेट २४०.००) बनाएका थिए । पारीको अन्तिम क्षणमा जहान मुबारकले पनि १३ बलमा तीन चौका र पाँच छक्का (स्ट्राइक रेट ३५३.८४) को मद्दतमा अविजित ४६ रन को पारी खेल्दै टोलीलाई २ सय ६० रनको स्कोरमा पु¥याए ।
श्रीलङ्काको विशाल स्कोर तल थिचिएको केन्याली टोलीले सुरुवातदेखि नै विकेट गुमाइरहेको थियो र पूरै टोली १९.३ ओभरमा ८८ रनमा समेटियो । खेल यति एकतर्फी भयो कि केन्याले १०.३ ओभरमा ४ विकेट गुमाउँदै मात्र ५० रन बनाउन सक्यो । स्टिभ टिकोलोको कप्तानीमा रहेको टोली उक्त खेलमा १ सय ७२ रनले पराजित भएको थियो, जुन टी–२० विश्वकपमा रनको हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो । टी–२० अन्तर्राष्ट्रियमा रनको हिसाबले सबैभन्दा ठूलो हार २ सय ७३ रन रहेको छ । सन् २०२३ को एसियन गेम्समा नेपालले मंगोलियालाई ठूलो अन्तर (२ सय ७३ रन) ले पराजित गरेको थियो ।
सन् २००७ टी–२० विश्वकपका अन्य दुई किर्तिमान पनि अझ कसैले भङ गर्न सकेका छैनन् । सन् २००७ को टी–२० विश्वकपमा श्रीलङ्काका सनथ जयसूर्याले सेप्टेम्बर १७ मा पाकिस्तानविरुद्ध चार ओभरमा ६४ रन दिएका थिए, जुन टी–२० विश्वकपको अहिलेसम्मकै सबैभन्दा महँगो बलिङ विश्लेषण हो । त्यस्तै, सेप्टेम्बर ११ का दिन दक्षिण अफ्रिका विरुद्धको पारीमा वेस्ट इन्डिजले चार लेग बाई, एक नोबल र २३ वाइड सहित २८ अतिरिक्त रन दिएको थियो। अर्को शब्दमा भन्दा वेस्ट इन्डिजले २८ रन दक्षिण अफ्रिकालाई उपहारस्वरुप प्रस्तुत गरेको थियो । यो खेल दक्षिण अफ्रिकी टोलीले ८ विकेटले जितेको थियो तर वेस्ट इन्डिजका क्रिस गेलले ५७ बलमा ७ चौका र १० छक्कासहित ११७ रन बनाएका थिए ।
टी–२० आईको एक इनिङमा सर्वाधिक एक्स्ट्रा (४५) को रेकर्ड फिलिपिन्सको नाममा छ । सन् २०२३ डिसेम्बर २२ बालीमा आइसिसी एसोसिएट सदस्य इन्डोनेसिया र फिलिपिन्सबीचको खेलमा फिलिपिन्सले अतिरिक्त रूपमा ४५ रन दिएको थियो, जसमा १३ बाइ, ४ लेगब्वाय र २८ वाइड समावेश छ। तर, अतिरिक्त ४५ रन दिए पनि फिलिपिन्स २ रनले विजयी भएको थियो ।

टिप्पणी लेख्नुहोस्