टी-२० विश्वकप : एक संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरु
काठमाडौंँ । टी–२० विश्वकप २०२४ जुन १ बाट सुरु हुँदैछ । २० टोलीको सहभागिता रहेको यो प्रतियोगिता यस पटक अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने छन् ।
यो प्रतियोगितामा ब्याट्सम्यानहरु इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा जस्तै रन बनाउन चाहन्छन् तर वेस्ट इन्डिजको सुस्त र सुख्खा पिचले उनीहरुको आकाङ्क्षा तोड्न सक्छ ।
टी–२० विश्वकपको एक संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरु :
विराट कोहली (३ सय १९ रन, सन् २०१४) : भारतीय क्रिकेट टोलीका महान ब्याट्सम्यान विराट कोहली टी–२० विश्वकपको एक संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २०१४ को संस्करणमा उनले ६ खेल खेल्दै १०६.३३ को औसतमा ३ सय १९ रन बनाएका थिए । उक्त संस्करणको फाइनलमा भारत श्रीलङ्कासँग पराजित हुँदै उपविजेता बनेको थियो । यसबाहेक कोहली टी–२० विश्वकपमा २ सय ५० भन्दा बढी रन बनाउने एक मात्र खेलाडी हुन् ।
तिलकरत्ने दिलशान (३ सय १७ रन, सन् २००९) : श्रीलङ्का क्रिकेट टोलीका ब्याट्सम्यान तिलकरत्ने दिलशानले सन् २००० को दशकको अन्त्यतिर विस्फोटक ओपनरको रूपमा आफ्नो पहिचान बनाएका थिए। उनले सन् २००९ को टी–२० विश्वकपमा श्रीलङ्काका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए जसका कारण टोली फाइनलमा पुग्न सफल भएको थियो। आफ्नो चर्चित 'दिलस्कुप' सटबाट सबैको ध्यान तानेका दिलशानले ७ खेलमा ३ अर्धशतक र १४४.७४ को स्ट्राइक रेटको मद्दतमा ३ सय १७ रन बनाएका थिए ।
बाबर आजम (३ सय ३ रन, सन् २०२१) : पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले आगामी टी–२० विश्वकपमा आफ्नो देशको नेतृत्व गर्ने भएका छन् । उनले सन् २०२१ को टी–२० विश्वकपमा ६०.६० को औसतमा ३ सय ३ रन बनाएका थिए । बाबर पाकिस्तानका एक मात्र ब्याट्सम्यान हुन् जसले टी–२० विश्वकपको एक संस्करणमा ३ सय भन्दा बढी रन बनाएका छन् । मोहम्मद रिजवानसँग उनको प्रारम्भिक साझेदारीले पाकिस्तानलाई सन् २०२१ को प्रतियोगिताभर अग्रता दिलाएको थियो। त्यस संस्करणमा पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।
माहेला जयवर्धने (३ सय २ रन, सन् २०१०) : श्रीलंकाका पूर्व ब्याट्सम्यान माहेला जयवर्द्धने टी–२० विश्वकपमा ३ सय भन्दा बढी रन बनाउने खेलाडी हुन् । उनले सन् २०१० को प्रतियोगितामा ६ खेलमा १५९.७८ को स्ट्राइक रेटमा ३ सय २ रन बनाएका थिए। जयवर्धने उक्त प्रतियोगितामा श्रीलङ्काका एक मात्र शतकीय खेलाडी पनि हुन । उनले सन् २०१४ मा श्रीलंकाको उपाधि विजेता टोलीको प्रतिनिधित्व गरेका थिए ।

टिप्पणी लेख्नुहोस्