तेस्रो मिल्स कप टि –२० क्रिकेट : पाहुना टोली दिल्ली र विराटनगरको एनबीएससी विजयी
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएको छ ।
विराटनगर जुट मिल खेलमैदानमा शनिबार भएको उद्घाटन खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धातिर २० ओभरमा ६ विकेट गुमाउदै २४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीका लागि मोहित अभिचानोनी र शिवम किशोरले आक्रमक ब्याटिङ गरे । खेलको प्लेर अफ द म्याच समेत घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । सतक नजिक पुगेर आउट भएका उनले ९ छक्का र ८ चौका प्रहार गरे । शिवम खेलमा अविजित रहदै २५ बलमा अर्धसतक कटाए । उनले ७ छक्का र ६ चौका प्रहार गर्दै ७२ रन बनाए । भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए ।
हरियाण थन्दर्स क्रिकेट क्लबका अंकित गोसामीले ३ ओभरमा ३४ रन खर्चिएर ४ विकेट लिए । मोहितले २ तथा सुभमले १ विकेट लिए ।
२ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणा १९ ओभरमा सबै विकेट गुमाउदै १८६ रनमा सिमित भयो । टोलीका लागि संगमले अविजित ३३ रन बनाउदा टिस्मू कुमारले २८ रन जोडे ।
दिल्लीका सत्यजीतले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । मोहितले २ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा झापाको बोष्र्टन क्रिकेट क्लबलाई एनबीएससीले २ सय १३ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाउदै २ सय ८८ रनको विशाल योगफल खडा गर्यो । एनबीएससीका लागि राहुल चौधरीले बिस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै सर्वाधिक ८३ रन बनाए । चिरन्जीवि ठाकुरले २९ बलमा अर्धसतक कटाउँदै ६० रन बनाए । उनले ३ छक्का र ८ चौकका प्रहार गरे । कुनाल किशोरले २० बलमा अबिजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौका प्रहार गरे । अनुभव कुमारले ४३ र रिसभले २९ रन बनाए ।
बोष्र्टनका सन्दिप क्षेत्रीे, दिवस शर्मा र प्रजित कुमारले समान १ –१ विकेट लिए ।
२ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको बोष्र्टन १४.६ ओभरमा सबै विकेट गुमाउदै ७५ रनमा सीमित भयो । टोलीका लागि तरु शर्माले अबिजित २५ रन बनाउँदा अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एनबीएससीका मैनक कुमारले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । उदय झाले ३ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सर्वाधिक रन बनाउने राहुल चौधरी घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेल जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको सीसीए क्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब भिड्ने छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजना भएको उक्त प्रतियोगितामा नेपालका १० र भारतका ६ टोलीको सहभागिता रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।
प्रतियोगिताको प्लेर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याट्र र बेस्ट बलरले जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ईमर्जिङ्ग प्लेयरले पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि पूर्वाञ्चल एकेडेमी क्रिकेट क्लब तथा दोस्रो संस्करणकोे उपाधि भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

टिप्पणी लेख्नुहोस्