लेख विवरण

आयरल्याण्डविरुद्धको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटले विजयी

आयरल्याण्डविरुद्धको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटले विजयी

काठमाडौंँ । आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन खेलको टी–२० सिरिजमा पुनरागमन गरेको छ । यो जितसँगै पाकिस्तानले सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा आयरल्याण्ड पाँच विकेटले विजयी भएको थियो । अब सिरिजको निर्णायक खेल मे १४ मा हुनेछ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ७ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । १ सय ९४ रनको लक्ष्य पाकिस्तानले १९ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका कप्तान बाबर आजम शुन्य रनमा आउट हुँदा मोहम्मद रिजवानले ४६ बलमा अविजित ७५ रनको पारी खेले ।

बाबर आजमको कप्तानीमा पाकिस्तानले ७८ खेलमा ४५ औं जित हात पारेको हो । योसँगै उनी विश्वकै सबैभन्दा सफल टी–२० कप्तान बनेका छन् । उनको कप्तानीमा पाकिस्तानले २६ खेलमा हार बेहोरेको छ । सात खेल नतिजाविहीन रह्यो । बाबरले युगाण्डाका कप्तान ब्रायन मसाबाको रेकर्ड तोडेका हुन् । ब्रायनको कप्तानीमा युगान्डाले ४४ खेल जितेको थियो ।

पहिले ब्याटिङ गरेको आयरल्याण्डको सुरुवात खराब रह्यो । टोलीले ३४ रनमा दुई विकेट गुमायो । ओपनर एन्ड्रयु बालबर्नी ३४ रनमा शाहिन अफ्रिदीको बलमा फखर जमानको हातमा क्याच आउट भए । उनले १४ बलको सामना गर्दै १६ रन बनाए । कप्तान पल स्टर्लिङ पनि ७ बलमा ११ रन बनाएर आउट भए । त्यसबत टोलीको स्कोर २ विकेटको क्षतिमा ३४ रन थियो ।

लोर्कन टकर र ह्यारी टेक्टरबीच तेस्रो विकेटका लागि ४२ बलमा ६२ रनको साझेदारी भयो । लोर्कनले ३४ बलको सामना गर्दै ५१ रन बनाए । ह्यारीले २८ बलमा ३२ रनको इनिङ खेले ।

आयरल्याण्डका लागि दोस्रो उच्च साझेदारी ह्यारी र कर्टिस क्याम्फरबीच २२ बलमा ४१ रनको थियो। क्याम्फरले १३ बलको सामना गर्दै २२ रन बनाए ।

पाकिस्तानका शाहिन अफ्रिदीले ४ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । अब्बास अफ्रिदीले ४ ओभरमा ३३ रन दिएर २ विकेट लिए । मोहम्मद आमिर र नसिम शाहले १–१ विकेट लिए ।

१ सय ९४ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात खराब रह्यो । पाकिस्तानलाई पहिलो झटका पहिलो ओभरको तेस्रो बलमा ६ रनको स्कोरमा लागेको थियो । साम अयुब ३ बलमा ६ रन बनाएर आउट भए । कप्तान बाबर आजम पनि ४ बल खेलेर खाता नखोलि प्याभिलियन फर्किए ।

त्यसपछि दोस्रो ओपनर मोहम्मद रिजवान र फखर जमानले तेस्रो विकेटका लागि ७८ बलमा १ सय ४० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । रिजवानले ४६ बल सामना गर्दै ७५ रन बनाए भने फखर जमानले ४० बल सामना गर्दै ७८ रन बनाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.