लेख विवरण

टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा, पहिलो खेल नेपालसँग खेल्ने

टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा, पहिलो खेल नेपालसँग खेल्ने

काठमाडौंँ । सन् २०२४ को टी–२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आगामी जुन १ देखि सुरु हुँदैछ । यो प्रतियोगिताको लागि नेदरल्यान्ड्सले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । नेदरल्यान्ड्स क्रिकेट बोर्डले टोलीको नेतृत्व गर्ने जिम्मा स्कट एडवर्ड्सलाई दिएको छ । यसपटक धेरै सिनियर खेलाडीले टोलीमा स्थान पाएका छैनन् । जसमा रोलोफ भान डेर मर्वे र ब्याट्सम्यान कोलिन एकरम्यान रहेका छन् । चयनकर्ताले यी खेलाडीको साटो युवामा विश्वास गरेका छन् ।

नेदरल्यान्ड्सको टोलीमा स्पिनर टिम प्रिङ्गल, तीव्र गतिका युवा बलर काइल क्लेन र ओपनर माइकल लेभिटले मौका पाएका छन् । लेभिट अहिले उत्कृष्ट फर्ममा रहेका छन्। उनले केही समययता नेदरल्यान्ड्सका लागि राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले नामिबियाविरुद्ध नेपालमा खेलेको त्रिकोणात्मक सिरिजमा शतक प्रहार गरेका थिए । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा लेभिटले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १ सय ३५ रन बनाएका थिए । स्कट एडवर्ड्स कप्तान र विकेटकिपरको भूमिकामा छन् । स्टार अलराउन्डर बास डे लिडले पनि टोलीमा स्थान पाएका छन् ।

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रायन कुकले भने, 'हामीले सन्तुलित टोली चयन गर्न सफल भएका छौं र हामी विश्वस्त छौं कि हामी अमेरिका र वेस्ट इन्डिजमा सामना गर्ने प्रतिद्वन्द्वीविरुद्ध परिस्थितिमा राम्रो प्रदर्शन गर्न सक्षम हुनेछौं। सबै खेलाडीले राम्रो अभ्यास गरिरहेका छन् । नेदरल्यान्ड्सले पछिल्लो शृंखलामा राम्रो प्रदर्शन गरेको छ ।'

सन् २००९ को टी–२० विश्वकपमा नेदरल्याण्ड्सले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो । सन् २०१४ को टी–२० विश्वकपमा नेदरल्याण्ड्सले इंग्ल्याण्डलाई ४५ रनले पराजित गरेको थियो । सन् २०२२ को टी–२० विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकी टोलीलाई १३ रनले पराजित गरेको छ ।

टी–२० विश्वकपमा नेदरल्याण्ड्स समूह 'डी' मा रहेको छ । यो समूहमा नेदरल्याण्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का, नेपाल र बंगलादेश रहेका छन् । नेदरल्याण्ड्सले आफ्नो पहिलो खेल जुन ४ मा नेपालसँग खेल्नेछ । टोलीले जुन ८ मा दक्षिण अफ्रिका, १३ मा बंगलादेश र १७ मा श्रीलङ्कासँग खेल्नेछ ।

सन् २०२४ को टी–२० विश्वकपका लागि नेदरल्याण्ड्सको टोली : स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीड, डेनियल डोराम, फ्रेड क्लासेन, काइल क्लेन, लोगन भान बीक, म्याक्स ओडाउड, माइकल लेभिट, पल भ्यान मीकेरेन, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, टिम प्रिङ्गल, विक्रम सिंह, भिभ किङ्मा र वेस्ले बेरेसी।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.