तेस्रो मिल्स कप टी-२० क्रिकेट प्रतियोगिता : जोगवनी र सुनसरी अन्तिम आठमा
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ ।
विराटनगर जुटमिल खेलमैदानमा भएको पहिलो खेलमा जोगवनीले घरेलु टोली बिसीसीए विराटनगरललाई ६२ रन र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै अन्तिम आठमा स्थान बनायो ।
टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । टोलीका लागि असिक कुमारले अर्धसतक पूरा गरे । उनले १९ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ५० रन बनाए । त्यस्तै यशदर्शन कुमारले १८ बलमा ४६ रनको पारी खेल्दा राजा बावुले ३७ बलमा ४४ रनको योगदान दिए । उत्तम कुमारले अविजित २३ रन बनाउँदा कोनाइव कुमारले २० रन बनाए । विराटनगरका कार्तिक कुमारले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आयुष कुमारले २ र अशुतोष सिंहले १ विकेट लिए ।
जोगवनीले दिएको २ सय ५२ रनको विशाल छक्ष्य पछ्याएको विराटनगर सबै विकेट गुमाउदै १ सय ८९ रनमा रोकियो । टोलीका लागि अशुतोष सिंहले २४ बलमा ३९ रन बनाए । धिरज कामतले २१ बलमा २९ रन बनाउँदा हर्ष यादवले २१ रन बनाए । जोगवनीका अबिशेष राजा, नवित, जयन्त कुमारले समान २–२ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हरायो । सुनसरीको जितमा रविन मण्डलले आक्रमक ब्याटिङ गर्दै अर्धसतक पूरा गरे । उनले ४७ बलमा ८८ रन बनाउदा सुनसरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । त्यस्तै सविन यादवले १८ बलमा २९ रनको पारी खेल्दा समिरले १२ रनको योगदान दिए । मिल्स क्रिकेटका लागि गुल्सन कुमार राजले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै पुस्कर झाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट र रितेस सिंहले १ विकेट लिए ।
१ सय ६७ रनको विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट १८.२ ओभरमा १० विकेट गुमाउदै १ सय ५५ रनमा रोकियो । टोलीका लागि कुमारले ३१ बलमा ७१ रन बनाए । भोला साहले २५ बलमा ३० रन ल्याउँदा बुद्रा कुमारले २४ रन बनाए । सुनसरीका प्रकाश कार्कीले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । भुपाल लुईटेलले २ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत बिहीबार (भोली) पहिलो क्वाटर फाइनल खेल जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब बिच हुने तालिका रहेको छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालका १० र भारतका ६ टोलीको सहभागिता रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जनाए ।
प्रतियोगिताको प्लेयर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर र बलरले जनही ११-११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ईमर्जिङ्ग प्लेयरले पाँच हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि पूर्वाञ्चल एकेडेमी क्रिकेट क्लब तथा दोस्रो संस्करण भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

टिप्पणी लेख्नुहोस्