लेख विवरण

एनबीएससी तेस्रो मिल्स टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

एनबीएससी तेस्रो मिल्स टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुट मिल खेलमैदानमा बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा प्रशान्त क्रिकेट क्लब (जोगवनी)लाई १ सय ३४ रनले पराजित गर्दै एनबीएससी सेमिफाइनल पुगेको हो ।

पहिले ब्याटिङ गरेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । टोलीका लागि अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धसतक पूरा प्रहार गरे । अनुभवले ४१ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ६६ रन बनाए । राहुलले ३१ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै ६० रन बनाए । राहुल खेलको प्लेर अफ द म्याच समेत भए । त्यस्तै कुनाल किशोरले २९ रन पारी खेल्दा रिसप रन्जनले २४ रनको योगदान दिए । जोगवनीका आशिक राजाले ४ ओभरमा १९ रन खर्चेर ३ र उत्तम यादवले २ विकेट लिए ।

विराटनगरले दिएको २ सय ३ रनको विशाल छक्ष्य पछ्याएको जोगवनी १३.३ ओभरमा सबै विकेट गुमाउदै ६९ रनमा रोकियो । टोलीका लागि राजा बाबुले ९ बलमा २४ रन बनाउँदा उत्तम यादवले १७ रन जोडे । जोगवनीका अन्य खेलाडीहरुले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका अदित्य झा र राहुल चौधरीले कसिलो बलिङ गरे । अदित्यले ४ ओभरमा १३ रन खर्चेर ४ र राहुलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल वाइआरससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालका १० र भारतका ६ टोलीको सहभागिता रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जनाए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर र बलरले जनही ११-११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ईमर्जिङ्ग प्लेयरले पाँच हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि पूर्वाञ्चल एकेडेमी क्रिकेट क्लब तथा दोस्रो संस्करण भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.