तेस्रो मिल्स कप टी–२० क्रिकेट : होराइजन क्रिकेट क्बल सेमिफाइनलमा
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा होराइजन क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
विराटनगर जुट मिल खेल मैदानमा बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेटले पराजित गर्यो ।
पटनाले दिएको १ सय ७६ रनको लक्ष्य होराइजनले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा सुजन थपलियाले २८ बलमा ४६ रन योगदान दिए । यस क्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै मनिष थापाले ४२ रन बनाउदा दिपकले २५ बलमा अविजित ३८ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच समेत भए । पटनाका सहि आनन्दले २, रन्जित कुमार र आशिष कुमारले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पटनाले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७६ रन बनाएको थियो । टोलीका लागि अंकुस राजले अर्धसतक प्रहार गर्दै २६ बलमा ७४ रन बनाए । यस क्रममा उनले ६ छक्का र ९ चौका प्रहार गरे । त्यस्तै नन्द किशोरले अविजित ४३ रन बनाउदा गोपी कृष्णले २० रन बनाए ।
पटनालाई अलआउट बनाउने क्रममा विराटनगरका श्रवण किस्कु र दिपेश कँडेलले समान ३–३ विकेट लिए । सन्तोष कार्कीले २ तथा प्रतिक पोखरेलले १ विकेट लिए ।
आज भएको पहिलो खेलमा एनबिएसी क्रिकेट क्लब विराटनगरले प्रशान्त क्रिकेट क्लब (जोगवनी) लाई १ सय ३४ रनले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल वाइआरससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालका १० र भारतका ६ टोलीको सहभागिता रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जनाए ।
प्रतियोगिताको प्लेयर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर र बलरले जनही ११-११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ईमर्जिङ्ग प्लेयरले पाँच हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि पूर्वाञ्चल एकेडेमी क्रिकेट क्लब तथा दोस्रो संस्करण भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।

टिप्पणी लेख्नुहोस्