लेख विवरण

ललितपुर मेयर कपमा कोशी प्रदेशको सान्त्वना जित

ललितपुर मेयर कपमा कोशी प्रदेशको सान्त्वना जित

काठमाडौंँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले जित निकालेको छ । जित निकाल्ने क्रममा टोलीले आयोजक ललितपुर मेयर-११ लाई ६ विकेटले पराजित गरेको छ । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा विकेटकिपर काजल श्रेष्ठले अविजित ३६ रनको पारी खेलिन् । त्यस्तै टिका साहले २५ रनको योगदान दिइन् । ललितपुरका लागि बलिङमा कृतिका मरासिनीले ३ विकेट लिइन् । सरस्वतीको कुमारीको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ८८ रन बनाएको थियो । टोलीका लागि आश्मा पुलामी मगरले अविजित २६ र किरण कुँवरले १३ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै अलिशा खडियाले २ तथा सबनम राई र हिरण्मयी रोयले १-१ विकेट लिइन् ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बिभागिय टोली एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको थियो ।

पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.