तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसीलाई
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ ।
विराटनगर जुटमील खेलमैदानमा मंगलबार (आज) सम्पन्न फाइनल प्रतिस्पर्धामा विराटनगरको होराइजन क्रिकेट क्बललाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै वाइआरसिसीले उपाधिमाथी कब्जा गरेको हो ।
जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । त्यस्तै उपबिजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चिक्त बुझायो ।
खेलमा जित निकाल्ने क्रममा वाइआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो । वाइआरसीसीका लागि देव खनालले आक्रमक ब्याटिङ गर्दै सतक प्रहार गरेका थिए । उनले ३४ बलमा १ सय १२ रन बनाए । यस क्रममा खनालले १२ छक्का र ८ चौका प्रहार गरे । उनले २९ बलमा सतक बनाएका थिए । अर्का खेलाडी नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका प्रहार गरे । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए ।
होराइजनका लागि इमरान शेखले ३ विकेट लिए । त्यस्तै दिपेश कँडेल र श्रवर्ण किस्कुले समान २–२ विकेट लिए ।
वाइआरसीसीले दिएको २ सय ४७ रनको विशाल लक्ष्य पछ्याएको होराइजन ७.१ ओभरमा सबै विकेट गुमाउदै मात्र ४६ रनमा रोकियो । टोलीका लागि सुजन थपलिया १२ र दिपेश कँडेलले १० रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।
होराइजनलाई कम योगफलमा अलआउट बनाउने क्रममा वाइआरसीसीका हेमन्त धामीले एक्लैले ७ विकेट लिए । किफायती बलिङ गर्ने क्रममा उनले ३.१ ओभरमा मात्र १६ रन खर्चिए । धामी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यस्तै बिपिन खत्रीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।
प्रतियोगिताको बेस्ट बलर होराइजन क्रिकेटका श्रवर्ण किस्कु घोषित भए । उनले प्रतियोगितामा ११ विकेट लिए । बेस्ट ब्याटर वाइआरसिसिका देव खनाल र म्यान अफ द श्रीरिज वाइआरसिसिको अभिषेक पाठक घोषित भए । अभिषेकले प्रतियोगितामा २ सय १६ रन बनाएका थिए ।
बिजेता हुने टोलीलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुररी चौधरीले पुरस्कार वितरण गरेका थिए ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागि रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्