टी–२० विश्वकपअघि अमेरिकाले बंगलादेशलाई हरायो
काठमाडौंँ । सन् २०२४ को टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने भएका छन् । जुन १ देखि सुरु हुने यो प्रतियोगिताअघि अमेरिकी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो उथलपुथल मच्चाएको छ । अमेरिकी टोलीले च्याम्पियन टोलीलाई पराजित गर्ने देशलाई पराजित गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा शीर्ष १० टोलीविरुद्ध अमेरिकाको यो दोस्रो जित पनि हो। टी–२० विश्वकप अघि यो उथलपुथलले क्रिकेट जगतलाई चकित बनाएको छ ।
टी–२० विश्वकपअघि अमेरिकी टोलीले बंगलादेशसँग घरेलु मैदानमा तीन खेलको टी–२० सिरिज खेल्दैछ । सिरिजको पहिलो खेलमा ठूलो उथलपुथल भयो । अमेरिकाले बंगलादेशजस्तो ठूलो टोलीलाई पराजित गर्दै इतिहास रच्यो । बंगलादेशविरुद्ध अमेरिकाको यो पहिलो जित हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य टोलीविरुद्ध अमेरिकाको यो दोस्रो जित हो । यसअघि अमेरिकाले आयरल्याण्डलाई पराजित गरेको थियो ।
ह्युस्टनस्थित प्रेयरी भ्यू क्रिकेट कम्प्लेक्समा दुई टोलीबीच भएको खेलमा आयोजक अमेरिकाले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि तौहिद हृदयले सर्वाधिक ५८ रन बनाए । महमुदुल्लाहले पनि ३१ रनको योगदान दिए । अमेरिकाका लागि स्टिभन टेलरले २, सौरभ नेत्रभाल्कर, अली खान र जेसी सिंहले १–१ विकेट लिए ।
१ सय ५४ रनको लक्ष्य अमेरिकाले १९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि कोरी एन्डरसनले ३४ तथा हरमीत सिंहले ३३ रन बनाए । यी दुवै खेलाडी आफ्नो टोलीको जितका नायक बने । यसअघि ओपनर स्टिभन टेलरले २८ र कप्तान मोनांक पातालले १२ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए । अब दुई टोलीबीचको सिरिजको दोस्रो खेल मे २३ मा र तेस्रो मे २५ मा खेलाइनेछ ।

टिप्पणी लेख्नुहोस्