नेपाल खेलकुद पत्रकार मञ्चको साधारण सभा सम्पन्न
काठमाडौंँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको बताउदै पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने बताए ।
उनले भने, ‘पत्रकारिताको आयाम फेरिरहेको छ । यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी छ ।’
होटल क्राउन प्लाजामा भएको उद्घाटन सत्रमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरु उत्पादन हुनु जरुरी रहेको बताउदै एकै जना खेलाडिले लामो समय कब्जा जमाउनु भनेको खेलकुदको विकास नहुनुको सुचक रहेको बताए ।
त्यस्तै नेपाल पौडी संघका नवनियुक्त अध्यक्ष जगतमान श्रेष्ठले भने, ‘खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकीरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्छ ।’
उद्घाटनपछि भएको बन्द सत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को कोंग्रेस नेपालमा आयोजना गर्ने विषयको प्रस्तावलाई राखेका थिए, जसलाई सर्वसम्मतले स्वागत गरेको थियो ।
बन्द सत्रमा महासचिव प्रज्वल ओलीको साँगठनिक प्रतिवेनदन र मञ्चको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्