लेख विवरण

कोशी प्रदेश टी–१० क्रिकेट : फुलबारी र विराट स्पोर्टिङ क्लब विजयी

कोशी प्रदेश टी–१० क्रिकेट : फुलबारी र विराट स्पोर्टिङ क्लब विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा तथा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएका छन् ।

विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेट र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुवै टोलीले समान २–२ अंक जोडेको छ ।

पहिलो खेलमा एलिटले दिएको ९९ रनको लक्ष्य फुलबारीले ५.५ ओभरमा विकेट नगुमाएर पूरा गर्यो । फुलबारीका ओपनर आलोक मञ्जयले १५ बलमा अविजित ४८ रन बनाए । यस क्रममा उनले ७ छक्का र १ चौका प्रहार गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । खडक बोहराले २० बलमा अविजित ४८ रनको योगदान दिए । उनले ४ छक्का र ५ चौका प्रहार गरे ।

यसअघि पहिलो ब्याटिङ गरेको एलिटले निर्धातिर १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । टोलीका लागि अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए । त्यस्तै सुशान्त मिश्रले १४ बलमा २४ रनको पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे । फुलबारीका भुवन कार्की, दिपक राज र एमडी कैफले समान १–१ विकेट लिए ।

विराटसँग पूर्वाञ्चल पराजित

दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकेडमीलाई ७ विकेटले पराजित गरेको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराटका खालिद आलमले १२ बलमा २६ रन बनाए । सुर्दशन कुमारले २४ बलमा २४ रन बनाउँदा रवि रोयले ५ बलमा ८ रनको योगदान दिए । पूर्वाञ्चलका विकास लोहियाले २ र मन्जित श्रेष्ठले १ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनायो । टोलीका लागि पवन कुमारले १४ बलमा २८, निराजन लड्डीले १५ बलमा २० र श्रवण यादवले ८ रन बनाए ।
विराटका आशुतोष सिंह, खालिद आलम र प्रतिक पोखरेलले समान २ –२ विकेट लिए ।

दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर–६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरिएको छ ।

विराटनगर–६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार प्रतियोगिताको विजेता टोलीले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजलाई २५ हजार, हरेक खेलको प्लेयर अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए । उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ क्लब र ती क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाएका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.