लेख विवरण

एनसिसिएस भ्याली कप टी–२० क्रिकेट प्रतियोगितामा सिइसीले भक्तपुरलाई हरायो

एनसिसिएस भ्याली कप टी–२० क्रिकेट प्रतियोगितामा सिइसीले भक्तपुरलाई हरायो

काठमाडौंँ । एनसिसिएस भ्याली कप टी–२० क्रिकेट प्रतियोगितामा पुरुष तर्फ क्रिकेट एक्सिलेन्ट सेन्टर (सिइसी) ले भक्तपुर क्रिकेट सेन्टरलाई ५ विकेटले पराजित गरेको छ ।

माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा आज सम्पन्न खेलमा ९३ रनको लक्ष्य सिइसीले १५.१ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा सोनु देवकोटाले ३३ बलमा ३४ रनको योगदान दिए । त्यस्तै दिपेन्द्र रावतले १७ बलमा २३ रन बनाए । सुर्य तामाङ १८ बलमा १२ रन बनाउदै अविजित रहे । भक्तपुरका लागि विकास अग्री र अमर रौटेलाले २–२ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९२ रन बनाएको थियो । टोलीका लागि पुरन थापाले अविजित ३९ रन बनाए । त्यस्तै दिपक बोहरा (११) र बिनोद तामाङले (७) रन बनाए । सिइसीका लागि सुर्य तामाङले ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सोनु देबकोटाले २ र युनिस विक्रम सिंहले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सिइसीका सुर्य तामाङ भए ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ। पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ।

महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.