लेख विवरण

कोशी प्रदेश टी–१० क्रिकेट : एनबीएससी र वाइआरसीसीको लगातर दोस्रो जित

कोशी प्रदेश टी–१० क्रिकेट : एनबीएससी र वाइआरसीसीको लगातर दोस्रो जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा तथा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स र वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २–२ जित निकालेको छ ।

विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले र दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १३० रनले हराउँदै वाइआरसीसीले लगातार दुई जित हात पारेको हो । जितसँगै दुवै टिमले समान ४–४ अंक जोडेको छ ।

पहिलो खेलमा पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एनबीएससीको जितमा लागि सन्तोष कार्कीले आक्रमक ब्याटिङ प्रस्तुत गरे । उनले २० बलमा अविजित ४१ रन बनाए । यस क्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै अतहर अन्सारीले ७ बलमा १८ रनको योगदान दिदा मनिष थापाले १० बलमा १८ रन बनाए । भिम सार्कीले ७ रन जोडे । पूर्वाञ्चलका बलर बिकासले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ८ विकेट गुमाउदै ८४ रन बनाएको थियो । टोलीका लागि विकास लोहियाले ११ बलमा २१ रन बनाए । त्यस्तै अंकित सुवेदीले १२ र शरद भेषावकरले १० रन बनाए । एनबीएससीका प्रशान्त सिंह राजपुतले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । मयङ्क कुमारले २ र फिरोद अन्सारीले १ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।

प्रतियोगितामा एनबीएससीले अहिलेसम्म खेलेको तीन मध्ये दोस्रो दिनको खेलमा वाइआरसीसी विराटसँग ६ विकेटले पराजित भएको थियो ।

वाइआरसीसीसँग एलिट पराजित

एलिट क्रिकेट क्बललाई १३० रनले हराउँदै वाइआरसीसीले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । वाइआरसीसीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो । टोलीको जितमा लोकेस बम र देव खनालले आक्रमक ब्याटिङ गरे । लोकेसले २० बलमा अर्धसतक पूरा गर्दै ५६ रनको योगदान दिए । उनले ६ छक्का र ४ चौका प्रहार गरे । देब खनालले १९ बलमा अर्धसतक पूरा गर्दै ५२ रन बनाए । देवले ७ छक्का र १ चौका प्रहार गरे । त्यस्तै विवेक यादवले ५ बलमा अविजित २० रन बनाउदा राशिद खानले ५ बलमा अविजित १८ रनको योगदान दिए । एलिटका मोहितले २ र सलन कामतले १ विकेट लिए ।

वाइआरसीसीले दिएको १८१ रनको लक्ष्य पछ्याएको एलिट ९.२ ओभरमा सबै विकेट गुमाई ५० रनमा सिमित भयो । वाइआरसीसीका बलर तारिक जमिलले गरेको घातक बलिङ सामु एलिटका कुनै पनि ब्याटरले दोहोरो अंक जोडन सकेनन् । टोलीका अभिषेक पलले ९ र दिपक बोहोराले ४ रन बनाए । वाइआरसीसीका लागि घातक बलिङ गर्ने तारिक जमिलले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यस्तै बिपिन खत्री र इमरन नजिरले समान २–२ विकेट लिए ।

दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर–६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरिएको छ ।

विराटनगर–६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार प्रतियोगिताको विजेता टोलीले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजलाई २५ हजार, हरेक खेलको प्लेयर अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए । उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ क्लब र ती क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.