भ्याली कप टी–२० क्रिकेटमा काठमाडौंँले ललितपुरलाई हरायो
काठमाडौंँ । एनसिसिएस भ्याली कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत महिला तर्फ भएको खेलमा काठमाडौंले ललितपुरलाई पराजित गरेको छ । माथिल्लो मुलपानी अन्तराष्ट्रिय क्रिकेटमा मैदानमा आज सम्पन्न खेलमा काठमाडौंले ललितपुरमाथी ३१ रनको जित निकालेको हो । काठमाडौंले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरको टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ९९ रन मात्र बनायो । ललितपुरलाई रोक्न काठमाडौंका संस्कृती फुयाल, बिपिशा शाही र एली यादवले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ३० रन बनाएको थियो । टोलीका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन् । त्यस्तै कञ्चन श्रेष्ठले ३६ रन बनाउदा ऐली यादव १८ रनमा अविजित रहिन् । ललितपुरका लागि मनिषा उपाध्याय र सम्भाव्य ढकालले समान १–१ विकेट लिए ।
ब्याटिङमा ललितपुरका यशु पाण्डेले सर्वाधिक ३५ रन बनाइन । त्यस्तै सविका यादवले १६ रन बनाउदा रेखा तामाङ १६ रनमा अविजित रहिन् । खेलको प्लेयर अफ द म्याच काठमाडौंकी अस्मिता खरेल भइन् ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फ आज सम्पन्न खेलमा सिइसीले भक्तपुरलाई ५ विकेटले पराजित गरेको थियो ।
भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहेको छ। पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी रहेका छन् ।
पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा आयोजना भइरहेको छ।
महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

टिप्पणी लेख्नुहोस्