सप्तरी प्रिमियर लिग : तिरुहट टाइगर्स र राजविराज राजदेवी विजयी
काठमाडौंँ । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत दोश्रो दिन शनिवार सम्पन्न दुई खेलमा तिरुहट टाइगर्स र राजविराज राजदेवी एघार विजयी भएका छन्।
आज सम्पन्न पहिलो खेलमा राजविराज राजदेवी एघारले बलान बिहुल सुपर किंग्सलाई १ रनले पराजित गर्यो।
राजविराज राजदेवीले दिएको ७३ रनको लक्ष्य पछ्याएको बलान बिहुलले १६.३ ओभरमा ७१ रनमा सबै विकेट गुमायो।
बलान बिहुलको ब्याटिंगमा साहिल पटेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। राजविराज राजदेवीको बलिंगमा रिजन ढकाल र श्रवन यादवले समान ३ विकेट लिए। रिजनले ४ ओभरमा ३४ रन तथा प्लेयर अफ द म्याच श्रवनले ४ ओभरमा मात्र १२ रन खर्चिए। रञ्जित कुमारले २ तथा जितेन्द्र यादव र अजय यादवले १–१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरको राजविराज राजदेवी एघारले १५.५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो। ओपनर दिलिप नाथले ३२ तथा विजय यादवले २६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलान बिहुल सुपर किंग्सको बलिंगमा गोमानंद अमात्य र नितेश कुमार यादवले समान ३ विकेट लिए। ह्याप्पी कुमार यादवले २ तथा सन्तोष कार्की र कप्तान विवेक यादवले १–१ विकेट लिए।
आज सम्पन्न दोश्रो खेलमा सनराइज एघार तिलाठी कोइलाडीलाई ८ विकेटले पराजित गर्दै तिरुहट टाइगर्सले विजयी सुरुवात गर्यो।
सनराइज एघार तिलाठी कोइलाडीले दिएको १०८ रनको लक्ष्य तिरुहुटले १२ ओभरमा भेटायो।
तिरुहुटका ओपनर शंकर रानाले अविजित अर्धशतकीय योगदान दिए। रानाले ४० बलमा ७ चौका र २ छक्का प्रहार गरे। बसिर अहमदले २८, निरज यादवले १४ तथा अमित यादवले ११ रन बनाए।
यस अघि टस जितेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो।
तिलाठी कोइलाडीको लागि रोबिन सिंहले सर्वाधिक २४, प्रकाश मण्डलले २२, साकेत सिंहले १५ तथा राजेश रजकले १४ रन बनाए। तिरुहुट टाइगर्सको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट तथा बसिर अहमदले २ विकेट लिए। प्लेयर अफ द म्याच घोषित दिपेशले ४ ओभरमा २० तथा बसिरले ४ ओभरमा २३ रन बनाए। अनिल यादव र अभिषेक कार्कीले १–१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत तेश्रो दिन आइतबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र राजविराज राजदेवी एघार तथा दिउँसो १ः३० बजेको दोश्रो खेलमा बलान बिहुल सुपर किंग्स र कन्चनरुप राइनोज प्रतिस्पर्धा गर्नेछन्।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १ः१ खेल खेलीसकेपछि समुहको शिर्ष–४ टिम बीच प्लेअफमा प्रतिस्पर्धा हुनेछ।
राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।

टिप्पणी लेख्नुहोस्