लेख विवरण

अन्जनी ओलम्पिक क्वालिफाइङ खेलमा पराजित

अन्जनी ओलम्पिक क्वालिफाइङ खेलमा पराजित

काठमाडौं । नेपाली मुक्केबाज अन्जनी तेली बक्सिङ रोड टु पेरीस भन्ने मुल नाराका साथ मित्रराष्ट्र थाईल्याण्डको राजधानी बैंककमा जारी दोस्रो तथा अन्तिम ओलम्पिक क्वालिफाइङ खेलमा पराजित भएकी छिन् ।

महिला ५४ के.जी. तौल समूह अन्तर्गत प्रारम्भिक–राउन्ड ३२ मा हङ्कङ्की मुक्केबाज अउ यिन विनीलाई ५ः० अंकको आधारमा पराजित गरी राउन्ड १६ को खेल खेलेका तेली मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसंग २७–३० अंकको आधारमा पराजित भएकी हुन् ।

नेपाली मुक्केबाज अन्जनी तेली गत वर्ष मित्र राष्ट्र भारतमा सम्पन्न आईबिए विश्व बक्सिङमा ५४ केजी तौल समुहमा दुई बाउट जित्दै आईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेकी बक्सर हुन् । उनी विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको पहिलो क्वाटरफाइनलमा पुग्ने खेलाडी हुन् ।

तेली गतवर्ष सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता र बागमती प्रदेशको आयोजनामा चितवन भरतपुरमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय बक्सिङ प्रतियोगितामा प्रथम हुन सफल भएकी थिईन् । सोही आधारमा उनी उक्त ओलम्पिक क्वालिफाइङमा नेपाल बक्सिङ महासंघले छनोट गरेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले बताएका छन् ।

नेपाली मुक्केबाज तेलीलाई पराजित गर्दै राउन्ड ८ मा पुग्न सफल मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिक जुनियर र युथ युरोपियन बक्सिङ च्याम्पियनसिपमा ४ पटक च्याम्पियन बनेकी थिइन् भने २०२२ मा सम्पन्न युरोपेली महिला बक्सिङ च्याम्पियनसिपमा उपबिजेता बनेकी थिइन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.