टी–२० विश्वकप : वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले हरायो
काठमाडौंँ । टी–२० विश्वकपको दोस्रो खेलमा वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै वेस्ट इन्डिजले सन् २०२४ को विश्वकपमा गतिलो सुरुवात गरेको छ । गुयानाको प्रोभिडेन्स स्टेडियममा दुई टोलीबीच रोमाञ्चक खेल भएको थियो । दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले यो खेल सहजै जित्छ भन्ने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन र पपुवा न्युगिनीले आयोजक टोलीलाई राम्रो टक्कर दिएको थियो ।
खेलमा वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै पपुवा न्युगिनीलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएका थिए । पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
पपुवा न्युगिनीका लागि सेसे बाउले उत्कृष्ट पारी खेले । चौथो नम्बरमा ब्याटिंग गरेका बाउले ४३ बलमा ५० रन बनाए। यस क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे । योसँगै सेसे बाउ टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने पपुवा न्युगिनीका दोस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि असद वाला टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने पपुवा न्युगिनीका एक मात्र ब्याट्सम्यान थिए ।
पपुवा न्युगिनीले वेस्ट इन्डिजलाई जितका लागि १ सय ३७ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पपुवा न्युगिनीले सुरुदेखि नै वेस्ट इन्डिजमाथि दबाब कायम राखे पनि अन्त्यमा पपुवा न्युगिनीको टोलीले केही गल्ती गरे, जसका कारण वेस्ट इन्डिजले खेल आफ्नो पक्षमा पार्यो । नत्र कुनै समय वेस्ट इन्डिजले ९७ रनको स्कोरमा ५ विकेट गुमाइसकेको थियो र उसलाई अन्तिम ४ ओभरमा जितका लागि ४० रन चाहिएको थियो । त्यहाँबाट रोस्टन चेज र आन्द्रे रसेलले आ–आफ्नो टिमको इनिङ सम्हाल्दै खेल जितेका थिए । रोस्टन चेजले २७ बलमा ४२ रन बनाए ।

टिप्पणी लेख्नुहोस्