नामिबियाका यी खेलाडीले टी–२० विश्वकपमा रचे इतिहास
काठमाडौंँ । टी–२० विश्वकप २०२४ मा अहिले ओमान र नामिबियाबीच खेल भइरहेको छ । खेलमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले उत्कृष्ट बलिङका आधारमा ठूला कीर्तिमान बनाएका छन्, जुन आजसम्म कुनै पनि खेलाडीले टी–२० मा बनाउन सकेका छैनन् ।
नामिबियाको बलिङको जिम्मेवारी रुबेन ट्रम्पलम्यानले लिएका थिए । उनले पहिलो ओभरको पहिलो बलमा ओमानका कश्यप प्रजापतिलाई आउट गरे । त्यसपछि दोस्रो बलमा उनले ओमानका कप्तान आकिब इलियासको विकेट लिए । रुबेन ट्रम्पलम्यान टी–२० क्रिकेटको इतिहासमा खेलको पहिलो दुई बलमा दुई विकेट लिने पहिलो खेलाडी बनेका छन्। यसअघि कुनै पनि खेलाडीले यो उपलब्धि हासिल गर्न सकेका थिएनन् । त्यसपछि रुबेन ट्रम्पलम्यानले ओमानका नसिम कुशीको विकेट पनि लिए ।
रुबेन ट्रम्पलम्यानले सन् २०२१ मा नामिबियाबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले नामिबियाका लागि २८ टी–२० खेलमा २५ विकेट लिएका छन् । यसबाहेक उनले ३८ एकदिवसीय खेलमा ६३ विकेट लिएका छन् । उनी इनिङ्सको प्रारम्भिक ओभरमा विकेट लिनका लागि परिचित छन्। लिस्ट ए क्रिकेटमा पनि उनको नाममा ७६ विकेट छ ।
नामिबियाको टोलीले यसअघि दुई संस्करणको टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । टोलीले २०२१ र २०२२ मा टी–२० विश्वकप खेलेको थियो । नामिबियाको टोली २०२४ को टी–२० विश्वकपको समूह बी मा रहेको छ । यस समूहमा नामिबिया बाहेक ओमान, स्कटल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाका टोली सहभागी छन् ।
टी–२० विश्वकपका लागि नामिबियाको टोली : गेरहार्ड इरास्मस (कप्तान), जेन ग्रीन, माइकल भान लिंगेन, डायलन लेचर, रुबेन ट्रम्पेलम्यान, ज्याक ब्रासेल, बेन शिकोंगो, टांगेनी लुंगामेनी, निको डिभाइन, जेजे स्मित, जान फ्राइलिन्क, जेपी कोट्ज, डेभिड विसे, बर्नार्ड स्कोल्ट्ज, मलान क्रुगर र पीडी ब्लिगनोट ।

टिप्पणी लेख्नुहोस्