लेख विवरण

नन्दालाई नासोको सम्मान

नन्दालाई नासोको सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी नन्दा बस्याल अमेरिकामा सम्मानित भएकी छन् । खेलकुद, कलाकारिता र समाज सेवामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेप्लिज अमेरिकन सोसल अर्गनाइजेसन (नासो) ले एक विशेष कार्यक्रमबीच उनलाई सम्मान गरेको हो ।

सोमबार आयोजित विशेष कार्यक्रममा अमेरिकास्थित अवैतनिक वाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराज महतले नन्दालाई सम्मान गरेका हुन् । कर्णालीजस्तो विकट ठाउँमा जन्मिएर खेलकुद तथा कलाकारितामार्फत राष्ट्रको नाम उँचो बनाउन नन्दाले खेलेको भूमिकाको प्रसंशा गर्दै अवैतनिक वाणिज्यदूत महतले उनलाई पछ्याएर थुप्रै युवायुवती खेलकुद र कलाकारिता क्षेत्रमा लाग्न प्रेरित हुने धारणा राखेका थिए ।

कार्यक्रममा नासोका अध्यक्ष रविलाल सुनार, एनआरएनए मेरील्यान्ड च्याप्टरका अध्यक्ष कुल गुरुङ, नासोका पूर्व अध्यक्ष गोपाल विश्वकर्मा, राजेन्द्र सेन्चुरी, उपाध्यक्ष दुर्गा विश्वकर्मा, सुमित्रा नेपाली, कोषाध्यक्ष ज्ञानेन्द्र गहतराज, दलित आयोगका पूर्वसदस्य कृष्ण चुनारा, समाजसेवी दीलिप नेपाली, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सञ्जीव नेपालीलगायतको उपस्थिति रहेको थियो । नन्दालाई यसअघि बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोले पनि सम्मान गरेको थियो ।

एक महिना अघि अमेरिका गएकी नन्दाले कुकिवन कप यूएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् । अमेरिकाको न्यु जर्सीमा भएको च्याम्पियनसिपको महिला ५० वर्षमुनि फ्रिस्टायल ब्रेकिङ र ओपन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेकी हुन् । राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी  सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण हो । उनले गत साउनमा दक्षिण कोरियामा भएको स्योङनाम विश्व हान्मादान अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.