बैकुण्ठ र एरिका शरदचन्द्र शाह मेमोरियल स्पोर्ट्स अवार्ड’ बाट सम्मानित
काठमाडौं । नेपाली खेलकुदको सर्वाधिक राशीको पुरस्कार ‘शरदचन्द्र शाह मेमोरियल स्पोर्ट्स अवार्ड’ बाट चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धर तथा करातेकी कीर्तिमानधारी युवा खेलाडी एरिका गुरुङ सम्मानित भएका छन् ।
नेपाली खेलकुदका कुशल पूर्वसदस्य–सचिव शरदचन्द्र शाहको स्मृतिमा प्रदान गरिएको यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न थालिएको हो । पुरस्कारको धनराषी २ लाख ५० हजार रहेको छ ।
दक्षिण एशियाली खेलकुदमा तीन पटक स्वर्ण पदक जितेका मानन्धरले शाहको स्मृतिमा प्रदान गरिएको यो पुरस्कारबाट पहिलो वर्ष नै आफू सम्मानित हुन पाएकोमा गर्वान्वित महसुस गरे ।
‘नेपाली खेलकुद विकासमा शरदचन्द्र शाहको योगदान अतुलनीय छ । उनको कार्यकाललाई हामी खेलाडीले स्वर्णयुगको रूपमा सम्झिन्छौं,’ पुरस्कारबाट सम्मानित भएपछि उनले भने, ‘उहाँको नामबाट प्रदान गरिएको पुरस्कार प्राप्त गर्दा मलाई गौरव लागेको छ । मैले यो दिनको कल्पना गरेको थिइन ।’
यस्तै, गत वर्ष चीनको हान्जाउँमा आयोजना भएको एशियाली खेलकुदमा करातेतर्फ रजत पदक जितेर एरिकाले इतिहास रचेकी थिइन । उनले सम्मानले आफूलाई थप उर्जा मिलेको बताइन् ।
२३ जुन ओलम्पिक डेको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको यो कार्यक्रममा शरदचन्द्र शाहको व्यक्तित्वमाथि पूर्वउप–प्रधानमन्त्री कमल थापाले प्रकाश पारेका थिए । उनले शाह नेपाली खेल क्षेत्रको मात्र नभई अन्तर्राष्ट्रिय खेलकुदकै लागि नक्षत्र भएको बताए । तर, देशले शाहको योगदानको उच्च कदर गर्न नसकेको उनको भनाई थियो ।
२०३४ देखि २०४४ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त शाहको कार्यकालमा बृहद राष्ट्रिय खेलकुदको सुरुवात हुनुका साथै, अन्तर नगर खेलकुद, विश्वविद्यालय खेलकुद र दक्षिण एशियाली खेलकुदको सुभारम्भ भएको थियो । उनकै सक्रियतामा देशभित्र खेलकुदको जागरण भएको थियो ।
२३ जुन शरदचन्द्र शाहाको जन्मदिवस पनि हो । फाउन्डेशन अध्यक्ष रेनु शाहले नेपाली खेलकुदमा आफ्नो श्रीमानले दिएको योगदानलाई स्मरण गर्न फाउन्डेशनले विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको बताइन् । खेलाडीहरूको मनोबल उच्च राख्न भविस्यमा अन्य कार्यक्रम पनि आयोजना गर्ने उनको भनाई थियो । फाउन्डेशनले गत वर्ष नेपाली खेलकुदको अनुसन्धानात्मक पहिलो पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ पनि बजारमा ल्याएको थियो ।

टिप्पणी लेख्नुहोस्