फुटबल खेलाडीहरूले पूरा गरे एएफसी सी डिप्लोमा कोचिंग कोर्स
काठमाडौंँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व तथा वर्तमान खेलाडीहरुले एएफसी सी डिप्लोमा कोचिङ कोर्स पूरा गरेका छन् । एन्फाको सहयोगमा एन्फा खेलाडी सङ्घले दुई चरणमा आयोजना गरेको सो कोर्समा १७ जना खेलाडीको सहभागिता रहेको थियो ।
पहिलो चरणको कोर्स फेब्रुअरी १२ देखि २५ सम्म भएको थियो भने दोस्रो चरण जुन २१ देखि २७ सम्म चलेको थियो । एन्फाका कोच एजुकेशन प्रमुख सञ्जित सिंह र प्रशिक्षक चेतनारायण श्रेष्ठले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
एन्फा कम्प्लेक्समा आयोजित समापन समारोहमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा महासचिव किरण राई, उपप्रमुख अरुणमान जोशी, प्रवक्ता सुरेश शाह, राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र राजेन्द्र तामाङको उपस्थिति थियो ।
अध्यक्ष नेम्बाङले सहभागीहरुलाई बधाई ज्ञापन गर्दै यो कोर्सले उनीहरुका लागि सफल प्रशिक्षण करियरको शुरुवात गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी मध्येका एक टंक बस्नेतले दुवै चरणको कोर्समा प्रशिक्षकहरुले गरेको अमूल्य अन्तर्दृष्टि र मार्गदर्शनका लागि धन्यवाद दिए ।

टिप्पणी लेख्नुहोस्