लेख विवरण

औपचारिक भ्रमणका लागि युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ कोरिया प्रस्थान

औपचारिक भ्रमणका लागि युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ कोरिया प्रस्थान

काठमाडौ । कोरिया सरकारको निमन्त्रणामा माननीय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्। एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरुमा सरिक हुनेछन। 
 
मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज (Eminent South Asian Dignitaries) र  नेपाल दुतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनेछन। लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पुर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए। 
 
कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ। कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ। 
 
वर्ल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ।  यसैगरी कोरियन नेशनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ। 
 
मन्त्री श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणको बारेमा जानकारी गराएका थिए। मन्त्री श्रेष्ठ र प्रमुख स्वकीय सचिव प्रदीप ज्ञवाली आज कोरिया प्रस्थान गरेका हुन्। भ्रमण पुरा गरेर मन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किनेछन।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.