लेख विवरण

शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके यी टी–२० सुपरस्टारले

शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके यी टी–२० सुपरस्टारले

काठमाडौंँ । सन् २०२४ को टी–२० विश्वकप सेमिफाइनलमा अफगानिस्तान पराजित भए पनि टोलीको यहाँसम्मको यात्राको बिषयमा क्रिकेट जगतमा प्रशंसा भइरहेको छ । विशेषगरी टिमका कप्तान राशिद खानको नाम अहिले हरेक क्रिकेट प्रेमीको जिब्रोमा छ । उनको कप्तानीमा टिमले प्रतियोगितामा अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता ठूला टिमलाई पराजित गर्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको थियो ।

कप्तान राशिद खानको यहाँसम्मको यात्रा त्यति सहज छैन । उनको बाल्यकाल निकै कठिन परिस्थितिमा बितेको थियो । सन् २००१ मा अमेरिका र तालिवानबीचको युद्धले उनको परिवारलाई घर छोड्न बाध्य बनायो । बालबालिकाको सुरक्षाका लागि उक्त परिवार अफगानिस्तान छोडेर पाकिस्तानको सीमा नजिकैको शरणार्थी शिविरमा बस्दै आएको थियो । त्यतिबेला राशिद मात्र ३ वर्षका थिए । स्थितिमा सुधार आएपछि उनको परिवार घर फर्कियो, तर केही समयपछि फेरि त्यही अवस्था आयो, पूरै परिवार पाकिस्तान फर्कियो । पेशावरका गल्लीहरूमा खेल्दै राशिदको जीवन अगाडि बढ्यो।

एक पटक रसिदलाई अचानक अङ्ग्रेजी बोल्न मन लाग्यो । म्याट्रिकको परीक्षा दिएपछि उनले ६ महिनासम्म अङ्ग्रेजीको विशेष ट्युसन लिए । त्यसपछि उनी आफैले अङ्ग्रेजी ट्युसन पढाउन थाले ।

सन् २०१५ मा १७ वर्षको उमेरमा राशिदले जिम्बाब्वेविरुद्ध एकदिवसीय र टी–२० क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले सन् २०१८ मा भारतविरुद्ध पहिलो टेस्ट खेलेका थिए । सन् २०१९ मा मात्र २१ वर्षको उमेरमा उनलाई टिमको तीनवटै फर्म्याट (टेस्ट, ओडीआई र टी–२०) को कप्तान बनाइएको थियो । यद्यपि, त्यस वर्ष उनलाई हटाइयो र असगर अफगानलाई कप्तानी दिइयो। राशिदले अहिलेसम्म २०१ म्याच (टेस्ट, ओडीआई र टी–२०) मा २६९ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५३ खेलमा १०० विकेट लिने कीर्तिमान उनको नाममा छ । अन्तर्राष्ट्रिय खेलबाहेक राशिदले आइपिएल र बीबीएललगायत विश्वका प्रायः सबै प्रमुख क्रिकेट लिगमा खेल्छन् । उनलाई सन् २०२४ को टी–२० विश्वकपका लागि फेरि एकपटक टोलीको कप्तान बनाइएको थियो ।

राशिदको जन्म अफगानिस्तानको नांगरहार प्रान्तमा भएको थियो। उनका पिता खोदादद खान एक टायर व्यापारी थिए। रशिद पढाइमा निकै स्मार्ट थिए । उनकी आमाको सपना थियो कि राशिद ठूलो भएर डाक्टर बनून्, तर अफगानिस्तानमा तालिबान र अमेरिकाबीच पटक–पटक युद्ध हुँदा उनी अफगानिस्तान त कहिले पाकिस्तानमा बस्नुपरेको थियो । यसले उनको पढाइमा असर पार्यो । जब राशिद हुर्किरहेका थिए, पाकिस्तानी अलराउन्डर शाहिद अफ्रिदीले विश्व क्रिकेटमा चर्चा कमाइरहेका थिए । उनलाई देखेर राशिदले पनि उही ब्याटिङ र स्पिन बलिङ सिके । उनी भाइहरूसँग क्रिकेट अभ्यासका लागि घन्टौं सम्म खेल्थे। र यसरी उनको क्रिकेटर बन्ने यात्रा सुरु भयो। रसिदका ६ भाइ र ४ बहिनी छन् ।

राशिदसँग सम्बन्धित केही महत्वपूर्ण कुराहरु :

– आईसीसीले सन् २०२० मा राशिद खानलाई दशकको उत्कृष्ट पुरुष टी–२० क्रिकेटरको अवार्ड प्रदान गरेको थियो ।
– रसिदले युट्युबबाट बलिङसँग सम्बन्धित धेरै ट्रिक्स सिकेका छन् । राम्रो कोचिङको अभावमा उनले भिडियो हेरेर मनपर्ने स्पिनरको टेक्निक सिक्ने गर्दथे ।
– धेरै पाकिस्तानी र अफगान प्रशंसकहरूले उनलाई 'अफगान अफ्रिदी' पनि भन्छन्। पाकिस्तानका अलराउन्डर शाहिद अफ्रिदी उनका आदर्श हुन् ।
– राशिदले पाकिस्तानको घरेलु टोलीबाट पनि खेलेका छन् । सन् २०१३ मा उनले पाकिस्तान, अफगानिस्तान र ताजिकिस्तानबीचको प्रतियोगितामा पाकिस्तानको 'सिबी'           टोलीका लागि खेलेका थिए।
– क्रिकेटबाहेक उनी फुटबलका निकै ठुलो प्रशंसक हुन् । एक अन्तरवार्तामा राशिदले आफू क्रिकेटर नभएको भए फुटबलमा करियर बनाउने बताएका थिए । उनलाई बलिउड         फिल्म निकै मन पर्छ । सलमान उनको मनपर्ने अभिनेता हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.