को बन्ला भारतीय टी–२० क्रिकेट टोलीको अर्को कप्तान ?
काठमाडौंँ । गत जुन २९ मा भारतले दोस्रो पटक टी–२० विश्वकप को उपाधि जित्यो । उपाधि जित्ने बित्तिकै कप्तान रोहित शर्मासँगै विराट कोहली र रविन्द्र जडेजासहित टोलीका ३ भेट्रान खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरे ।
सन् २०२६ को टी–२० विश्वकप भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गर्ने भएको छ । सन् २०२६ को टी–२० विश्वकपमा भारतीय टोलीको नेतृत्व कसले गर्नेछ ? हामी आज यस प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौं ।
हार्दिक पांड्या : हार्दिक पाण्ड्या भारतीय टी–२० क्रिकेट टोलीको कप्तान बन्ने दौडमा अग्रपंक्तिमा छन् । उनीसँग टी–२० अन्तर्राष्ट्रियमा १ सय म्याचको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन । पाण्ड्याले भारतका लागि १६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमध्ये १० खेलमा टोलीले जित हात पारेको छ ।
ऋषभ पन्त : भारतीय कप्तानको दौडमा रहेका अर्का खेलाडी हुन ऋषभ पन्त । भयानक कार दुर्घटनामा परेर १८ महिना अघि अस्पतालमा जीवन र मृत्युबीचको लडाइँ लडेका उनी भारतको टी–२० विश्वकप विजेता टोलीको हिस्सा हुनेछन् भनेर कसैले सोचेका थिएनन् । २६ बर्षीय यी युवा खेलाडीले कडा मेहनतका साथ डेढ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरे । उनले टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ४२ रन बनाएर भारतलाई १ सय १९ रनको स्कोरमा पुर्याएका थिए । ऋषभले टी–२० अन्तर्राष्ट्रियमा ७४ खेल खेल्दै १ हजार १ सय ५८ रन बनाएका छन् । उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए । जस मध्ये २ मा जित हात पारेका थिए । एक खेल अनिर्णायक रहेको थियो।
सूर्यकुमार यादव : सूर्यकुमार यादव आफ्नो सशक्त प्रदर्शनका कारण भारतीय टिमको कप्तान बन्ने दाबी गरिरहेका छन् । उनले ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २ हजार ३ सय ४० रन बनाएका छन् । उनले आफ्नो कप्तानीमा एक शतक पनि प्रहार गरेका छन् । सूर्याको कप्तानीमा भारतले ७ मध्ये ५ खेलमा जित हात पारेको छ । सूर्याले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३ सय रन बनाएका छन् ।
जसप्रीत बुमराह : जसप्रित बुमराह भारतीय टोलीमा ट्रम्प कार्ड हुन। उनले ७० खेलमा ८९ विकेट लिएका छन् । उनको नाममा धेरै रेकर्डहरू छन्, तर उनले केवल २ खेलमा भारतीय टोलीको कप्तानी गरेका छन् र दुबै म्याच जितेका छन्। बुमराहले आफ्नो कप्तानीमा खेलेका २ खेलमा ४ विकेट मात्र लिन सकेका छन् ।
आगामी एक वा दुई वर्षमा भारतीय क्रिकेट बोर्डले टेस्ट र ओडीआई कप्तानको पनि खोजी गर्नुपर्नेछ, किनकि रोहितले टी–२० फर्म्याटबाट सन्यास लिएपछि डब्ल्यूटीसी २०२३–२५ सिजनको फाइनलसम्म भारतीय टोलीको कप्तानी गर्नेछन्। उनी सन् २०२७ को टी–२० विश्वकपमा कप्तानी गर्नेमा सशंकित छन्, किनभने त्यसपछि उनी ४० वर्षका हुनेछन् ।
रोहितले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीमा भारतीय टोलीको नेतृत्व गर्नेछन् । भारतीय कप्तान तथा खेलाडीको रूपमा ३७ वर्षीय रोहित शर्माको यो अन्तिम आइसिसी प्रतियोगिता हुन सक्छ ।

टिप्पणी लेख्नुहोस्