कार्तिक आरसीबीको ब्याटिंग कोच र मेन्टरमा नियुक्त
काठमाडौंँ । क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका पूर्व भारतीय क्रिकेटर दिनेश कार्तिक अब नयाँ अवतारमा देखिने भएका छन् । उनलाई रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले ब्याटिङ प्रशिक्षक र मेन्टरमा नियुक्त गरेको छ । कार्तिकले अब अर्को सिजनबाट आरसीबीका ब्याट्सम्यानलाई ब्याटिङ ट्रिक्स सिकाउनेछन् ।
कार्तिकले गत जुन १ मा आफ्नो जन्मदिनको अवसर पारेर क्रिकेटका सबै फरम्याटबाट सन्यासको घोषणा गरेका थिए । उनी आईपीएलमा आरसीबीमा आवद्ध थिए र टोलीमा फिनिशरको भूमिका पनि खेलेका थिए। गत सिजन आइपिएलमा कार्तिकले आरसीबीको उत्कृष्ट पुनरागमनको साक्षी बने जब उनको टोली पहिलो आठ खेलमध्ये सातमा हारबेहोरेपनि अन्तिम चारमा पुगेको थियो। तर, एलिमिनेटरमा आरसीबीले राजस्थान रोयल्ससँग हार बेहोरेको थियो ।
सन् २०२४ को आइपीएल सिजन कार्तिकका लागि निकै राम्रो रह्यो । उक्त सिजनको १३ इनिङ्समा कार्तिकले १८७.३५ को स्ट्राइक रेटमा ३ सय २६ रन बनाए । उनले आरसीबीका कुल ६० खेल खेलेका छन् र यस अवधिमा २४.६५ को औसत र १६२.९५ को स्ट्राइक रेटमा ९ सय ६७ रन बनाएका छन्। उनी विराट कोहलीपछि आरसीबीका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । आरसीबीका लागि कार्तिकले ३६ क्याच र ९ स्टम्पिङ पनि गरेका छन् ।
कार्तिक आईपीएलको कुल ६ टोलीमा सहभागि भइसकेका छन् । उनले दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स), किंग्स इलेभेन पञ्जाब (अहिले पञ्जाब किंग्स), मुम्बई इन्डियन्स, गुजरात लायन्स, कोलकाता नाइट राइडर्स र आरसीबीबाट आइपीएल खेली सकेका छन् । कार्तिकले आईपीएलमा केकेआरको कप्तानी समेत गरेका थिए ।
आईपीएल २०२२ मा आरसीबीका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेपछि उनलाई भारतीय टोलीबाट कल आयो । र कार्तिकले सन् २०२२ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा स्थान पाए । तर, त्यसपछि कार्तिक पुनः फेरि एकपटक भारतीय टोलीबाट बाहिरिनु परेको थियो ।
कार्तिकले सन् २००४ मा इङ्ल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । अन्तर्राष्ट्रिय करियरमा, कार्तिकको नाममा एक शतक छ जुन उनले टेस्ट क्रिकेटमा बनाएका थिए। कार्तिक सन् २००७ मा भारतको टी–२० विश्वकप विजेता टोलीमा पनि थिए। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा २६ टेस्ट, ९४ एकदिवसीय र ६० टी–२० खेलेका छन्।

टिप्पणी लेख्नुहोस्