पेरिस ओलम्पिक खेल्ने टोलीमा अटाएनन मेस्सी
काठमाडौंँ । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले यसै महिनाको अन्त्यमा पेरिसमा सुरु हुने ओलम्पिकमा अर्जेन्टिनाको फुटबल टोलीको हिस्सा नहुने भएका छन् । प्रशिक्षक जेभियर मास्चेरानोले मंगलबार घोषणा गरेको टोलीमा स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डीसहित चार जना खेलाडी छन् । चोटसँग जुधिरहेका ३७ वर्षीय मेसी अहिले कोपा अमेरिकामा अर्जेन्टिनाको प्रतिनिधित्व गरिरहेका छन् ।
टोलीको लक्ष्य सन् २०२१ मा जितेको महादेशीय उपाधि रक्षा गर्नु हो । अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिका जितेको थियो भने सन् २०२२ मा विश्वकप पनि जितेको थियो । मेसीले सन् २००८ मा बेइजिङमा भएको आफ्नो एक मात्र ओलम्पिक खेलमा टोलीलाई स्वर्ण पदक जिताउन मद्दत गरेका थिए। ओलम्पिक पुरुष फुटबल प्रतियोगिता २३ वर्षमुनिको टोलीका लागि हो तर प्रत्येक टोलीमा तीन जना भन्दा बढी उमेरका खेलाडीलाई अनुमति दिइएको छ ।
सन् २००४ र २००८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका मास्चेरानोले गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई कोपा अमेरिकाको अन्त्यमा टोलीमा समावेश गर्नेछन् । रिभर प्लेटबाट हालै म्यानचेस्टर सिटीमा प्रवेश गरेका मिडफिल्डर क्लाउडियो इचेभेरी पनि टोलीमा सामेल हुनेछन् । अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग ओलम्पिकको पहिलो खेल खेल्नुअघि फ्रान्समा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । समूह 'बी' मा अर्जेन्टिना र मोरक्कोबाहेक इराक र युक्रेन रहेका छन् ।

टिप्पणी लेख्नुहोस्