नेपाल सम्मिलित एसिया कपका लागि भारतीय क्रिकेट टोली घोषणा
काठमाडौंँ । साउन पहिलो सातादेखी श्रीलंकामा आयोजना हुने एसिसी महिला ट्वान्टी–२० एसिया कपका लागि भारतीय राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरिएको छ ।
बिसिसीआइको महिला छनोट समितिले शनिबार घोषणा गरेको टोलीको नेतृत्व कप्तान हरमनप्रीत कौरले गर्नेछिन् । टोलीमा स्मृति मंधाना (उपकप्तान), शेफाली वर्मा, दीप्ति शर्मा, जेमिमा रोड्रिगेज, ऋचा घोष (विकेटकीपर), उमा क्षेत्री (विकेटकीपर), पूजा वस्त्राकर, अरुंधति रेड्डी, रेणुका सिंह ठाकुर, दयालन हेमलता, आशा शोभना, राधा यादव, श्रेयांका पाटिल र सजना सजीवन रहेका छन् ।
जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुने प्रतियोगितामा भारतले पहिलो खेल जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्नेछ । त्यस्तै जुलाई २१ मा युएई र २३ मा नेपालविरुद्ध खेल्नेछ । प्रतियोगिताका खेलहरु रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।
प्रतियोगिताको यो संस्करणमा आठ देश सहभागी हुनेछन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।
एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।

टिप्पणी लेख्नुहोस्