श्रीलङ्का र अष्ट्रेलियाले न्युजिल्यान्ड भ्रमण गर्ने
काठमाडौंँ । न्युजिल्याण्डको घरेलु सिजन (२०२४–२५) मा श्रीलङ्का, पाकिस्तान र अष्ट्रेलियाले न्युजिल्याण्डको भ्रमण गर्नेछन् । यसबाहेक इंग्ल्यान्डसँग तीन म्याचको टेस्ट सिरिजको घोषणा भइसकेको छ । पाकिस्तानसँगको सिरिजको तालिका पनि आइपिएलसँग भिड्न सक्ने अनुमान गरिएको छ ।
समग्रमा न्युजिल्यान्डले घरेलु सिजनमा ६ एकदिवसीय र ८ टी–२० खेल खेल्नेछ भने महिला टिमले ६ एकदिवसीय र ६ टी–२० खेल्नेछ । ग्रीष्मऋतुमा न्युजिल्यान्डले इंग्ल्यान्डसँग मात्र टेस्ट सिरिज खेल्नेछ । सेप्टेम्बर देखि डिसेम्बरसम्म न्युजिल्यान्डले अफगानिस्तान (१ टेस्ट), श्रीलंका (२ टेस्ट) र भारत (३ टेस्ट) सँग सिरिज खेल्नेछ । सन् २०२५–२६ को सिजनमा न्युजिल्यान्डले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध दुई खेल खेल्ने छ ।
इंग्ल्यान्डविरुद्धको शृंखलापछि न्युजिल्यान्डको पुरुष टोलीले डिसेम्बरको अन्त्यदेखि जनवरीको मध्यसम्म श्रीलंकासँग टी–२० र एकदिवसीय सिरिज खेल्नेछ । त्यसपछि टोली त्रिकोणात्मक सिरिज खेल्न पाकिस्तान प्रस्थान गर्नेछ, जुन फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी हुनेछ। च्याम्पियन्स ट्रफीपछि पाकिस्तानले मार्चको अन्त्य र अप्रिलको सुरुमा सिजनको अन्तिम चरणमा पाँच टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ ।
न्युजिल्यान्डको महिला टोलीले क्रिसमसको केही समयअघि अस्ट्रेलियालाई आतिथ्य गर्नेछ । त्यस क्रममा तीन एकदिवसीय खेलको शृंखला खेलाइनेछ । यसबाहेक मार्चको अन्त्यमा तीन टी–२० म्याचको सिरिज पनि हुनेछ । श्रीलङ्काको महिला टोली मार्चमा ६ खेलको भ्रमणका लागि न्युजिल्यान्ड जानेछ ।

टिप्पणी लेख्नुहोस्